
पाल्पा, तानसेनमा सञ्चालित मोहन कन्या माविका शिक्षक र विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । विद्यालयको हिरक महोत्सवको अवसरमा पूर्व शिक्षक गंगालाल श्रेष्ठको व्यवस्थापन र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा शिक्षक, विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।
पूर्व शिक्षक श्रेष्ठले स्व. श्रीमति दुर्गा श्रेष्ठको स्मृतिमा शिविरको ब्यवस्थापन गरेका हुन् । उनले आफुले लामो समय विद्यालयमा बिताएको र विद्यालयका लागि केही गरौं भन्ने भावना जागृत भएकोले बेला बेलामा सक्दो सहयोग गर्दै आएको बताए । उनले भने “ विद्यालयले अहिले हीरक महोत्सव मनाइरहेको छ । यो अवसरमा विद्यार्थी र शिक्षकहरुको आँखा परीक्षण गर्न पाए राम्रै हुन्थ्यो भन्ने लागेर स्व. श्रीमतिको स्मृतिमा आँखा शिविर गरिएको हो ।” श्रेष्ठले विद्यालयमा एक लाख बराबरको छात्रवृत्ति समेत स्थापना गरिदिएका छन् । शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ३ सय जना विद्यार्थी र शिक्षकको आँखा परीक्षण विद्यालयका प्रअ दीपक ज्ञवालीले बताए । उनले भने “आँखा शिविरबाट शिक्षक, विद्यार्थीहरू लाभान्वित भएका छन् । यस्तो पुण्य कार्यको लागि सौजन्य गर्नुभएका पूर्व शिक्षक गंगालाल श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु ।” विद्यालयले विभिन्न कार्यक्रम गरी अहिले हिरक महोत्सव मनाई रहेको छ ।
पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुलको रुपमा यो विद्यालय स्थापना भएको थियो । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले अहिले बुढ्यौली यात्रा तय गरेको छ । शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही लगायत जिल्लाका छात्रा (कन्या) हरु यस विद्यालयमा अध्ययन गर्ने गर्दछन् ।