
पाल्पा, नेपाल बाल संगठन पाल्पाको सभापतिमा सोमनाथ अर्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । संगठनको तानसेनमा भएको १३ औं जिल्लाले अर्याललाई पुनः अध्यक्षमा चयन गरेको हो ।
जसको सदस्यहरुमा गोविन्द नेपाल, नविन थापा, राजेन्द्र लिगल, ढकेश्वर बस्याल, शिव कुमारी गाहा, रामप्रसाद तिमिल्सिना र मञ्जु विक रहेका छन् । थप मनोनित सदस्य र पदाधिकारी पहिलो बैठकले चयन गर्ने सभापति अर्यालले जानकारी दिए । अधिवेशनको वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले सिमित स्रोत साधनबाट सञ्चालित बालमन्दिरलाई नयाँ कार्यसमितिले चलायमान बनाउनुपर्ने बताए । उनले बाल संगठनले शिक्षासँगै बाल अधिकार संरक्षणमा समेत ध्यान दिन नयाँ कार्यसमितिलाई आग्रह गरे । कार्यक्रममा नेपाल शिक्षक संघगठन पाल्पाका अध्यक्ष हिरा आचार्य, बालमन्दिर प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बस्याल, निर्वाचन समितिका अधिकृत अधिवक्ता विनोद कार्की, विद्यालयका प्रधानाध्यापक पार्वती पौडेल, नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष रेखीराम राना लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । सभापति सोमनाथ अर्यालले संगठनको वार्षिक प्रतिवेदन र सचिव नविन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संगठनका सभापति अर्यालको अध्यक्षता, उपाध्यक्ष गोविन्द नेपालको स्वागत, सचिव नविन थापाको सञ्चालनमा भएको थियो ।