Shittalpati
तानसेनका सामाजिक संघ संस्थाहरुको निरीक्षण

पाल्पा,  जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा सदरमुकाम तानसेनमा सञ्चालित सामाजिक संघ संस्थाहरुको निरीक्षण गरिएको  छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको नेतृत्वमा अभियान नेपालद्धारा सञ्चालित बालगृह, निलसागरद्धारा सञ्चालित बृद्धा आश्रम, पाल्पा सिविआरमा सञ्चालित अपाङ्ग बालबालिका पुर्नस्थापना केन्द्र र जिल्लाबाट संचालित अस्थायी सुरक्षित आवास गृहको अवलोकन तथा निरीक्षण गरिएको हो ।

अनुगमन टोलीले तानसेन नगरपालिका –१ धुर्वघाटमा अभियान नेपालबाट सञ्चालित, बालगृहको अनुगमन गरेको छ । उक्त संस्थामा हाल २० जना बालबालिका रहेका छन् । जसमा १७ जना बालबालिकाहरु नियमिति रुपमा विद्यालय तथा कलेज क्याम्पसमा अध्यन गर्दै आएका छन् भने ३ जना अपाङ्ग, सुस्त मनस्थिती भएका बालबालिका छन् । कार्यक्रममा अभियान नेपालका सस्थापक अध्यक्ष दुर्गा पहाडी, कार्यवाहक अध्यक्ष डिलबहादुर ढुंङ्गानाले अभिभावक विहिन, सहाराविहिन बालबालिकाहरुलाई बालगृहमा राखी, नियमित रुपमा स्वास्थ्य उपचार,खानपान बसोवास तथा शैक्षिक सेवा प्रदान गर्दै आएको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरबाट प्राप्त हुने विभिन्न कसिमका सहयोगहरु रोकिएकाले बालगृह सञ्चालन गर्न कठिन हुँदै गएको संस्थापक अध्यक्ष पहाडीले बताए । स्थानीय स्तरबाट सहयोग नपाएर बालगृह बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।एकातर्फ आर्थिक संकट, अर्काेतर्फ बालगृहमा बसेर  १६ बर्ष उमेर पुगेपछि पुर्नस्थापना विषयले संस्थालाई अफठ्यारो परेको, दातृ निकायबाट सहयोग रोकिदा बालगृहमा काम गर्ने कर्मचारीहरुलाई समेत दुई/तिन महिनादेखी तलव दिन नसकेको, बालगृहमा रहेका बालबालिकाको कागजात, जन्मदर्ता तथा नागरिकता बनाउन समस्या भएको, कुनै बालबालिकाको ठेगाना हालसम्म पहिचान हुन नसकेकोले बालगृह सञ्चालन गर्न कठिनाई भएको, अबका दिन सहयोगी हातहरु नआए काम गर्न नसकिने अभियान नेपालका कार्यवाहक अध्यक्ष ढुंङ्गानाले बताए । अभियान नेपाल बालगृहमा हाल १३ जना छात्रा र ७ जना छात्र रहेका छन् ।

टोलिले तानसेन नगरपालिका –१ भुसालडाडामा सञ्चालित निल सागर आश्रमको अवलोकन गरेको छ । निलसागर आश्रममा २० जना बृद्ध बृद्धा तथा मानसिक सुन्तलन गुमाएर व्यक्तिहरु रहेका छन् । निल सागर आश्रम पाल्पाका संयोजक प्रकाश गंगोलले  आश्रममा बस्नेहरु मानसिक रोगीहरु पनि भएकाले उनीहरुको नियमित स्वास्थ्य परिक्षणको लागि समस्या भएको जानकारी गराएका थिए । खानपिनको लागि दैनिक सहयोग जुटिरहे पनि आगामी एक बर्ष पछि भवन करार सम्झौता सकिने र अन्य स्थानमा भाडा तिरेर आश्रम सञ्चालन गर्न सकिने अवस्था नरहेकोले तानसेन नगरपालिकाले जग्गा व्यबस्थापन गरिदिनुपर्नेमा संयोजक गंगोलले आग्रह गरे । अनुगमन टोलीले पाल्पा तानसेन –२ मा रहेको  सिविरआरमा सञ्चालित डे केयर सेन्टर, तथा सेभ हाउसको  पनि अवलोकन  गरेको छ । डे केयरमार्फत करीव २० जना अपाङ्ग बालबालिकाहरु पुर्नस्थापना कार्यक्रममा सहभागी हुँदै आएका छन् । घर भिजिटमार्फत ८४ जना अपाङ्ग बालबालिकाहरुलाई फिजियो थेरापी सेवा प्रदान गर्दै आएको पाल्पा सिविआर डे केयरका संयोजक कृष्ण गहतराजले बताए । डे केयरमा आउने बालवालिकाहरुलाई संस्थाकै सवारी साधनबाट घर बाट ल्याउने, दिनभरी खेल्ने, खेलाउने, फिजियो थेरापी गराउने, पढ्ने पढाउन र घरसम्म लैजाने काम गर्दै आएको संयोजक गहतराजले बताए । टोलीले अस्थायी सुरक्षित आवास गृहको पनि अनुगमन गरेको छ । सुरक्षित आवास गृहमा काम गर्ने कर्मचारीलाई नेपाल सरकारको मापदण्ड भन्दा निकै कम सात, आठ हजारमा काम गराउनु परेको जानकारी गराए । अनुगमनमा सहभागी कार्यालयहरुले जिल्ला प्रशासनको अगुवाईमा आवश्यक सहयोग र समन्वय गर्ने निर्यण भएको प्रजिअ सुवदीले बताए । ३ वटा संस्थालाई तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले चामल, तेल लगायका खाद्यान्य सहयोग गरेका थिए ।

तानसेनमा विभिन्न संघ संस्थाबाट सञ्चालित बालगृह, बृद्धाआश्रम, अपाङ्ग बालबालिका पुर्नस्थापना केन्द्र तथा अस्थायी सुरक्षित आवास गृहको  अवस्था, उनीहरुलाई परेको समस्या, सरकारी तवरबाट गर्नुपर्ने सहयोग र समन्वय, सहकार्यको बारेमा जानकारी लिएको र सोही अनुसारको सहयोगको समन्वय र सहकार्य गरिने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । राज्यले गर्नुपर्ने काम विभिन्न सामाजिक संघ संस्थाबाट भएका छन् । यस्ता संघसंस्थालाई जिल्लाका सरकारी कार्यालयले आवश्यक सहयोग र समन्वय र सहकार्य गरेर अझ हौसला प्रदान गर्नको लागि अनुगमनको कार्यक्रम राखिएको प्रजिअ सुवेदीले बताए ।  पछिल्लो समयमा विभिन्न सहयोगी संस्थाबाट आउनु  पर्ने सहयोग रकम नआएको कारण समाजिक, मानविय संघ संस्थाहरु अफठ्रोमा परेका छन् । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल, नेपाली सेना दि फेमस महिन्द्र दल गण, स्वास्थ्य कार्यालय पाल्पा, पाल्पा अस्पताल, जिल्ला शिक्षा तथा समन्वय ईकाई, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update