
देशमा राजनीतिक अस्थिरता छ । अस्थिर राजनीतिले स्थिर सरकारलाई समेत अस्थिर बनाई रहेको छ । अहिले काँग्रेस–एमाले स्थिर गठबन्धन सरकार छ । तर अस्थिर राजनीतिका कारण यो सरकार पनि कहिले ढल्ने हो भन्ने आशंक उत्पन्न गराएको छ । वर्तमान गठबन्धन भत्काएर सरकार ढलाउने हल्ला राजनीति वृत्तमा सुन्न थालिएको छ ।
राजनीतिक स्थिरता कायम गर्ने लगायतका ७ बुँदे सहमति गरेर सरकार बनेको एक वर्ष पुग्दा नपुग्दै देखिएका अस्थिरताले उद्देश्य चाहीँ विधि/पद्दति र सुशासनभन्दा जसरी पनि सत्ता हो भन्ने देखिएको छ । कांग्रेस–एमाले गठबन्धन बनेको एक वर्ष पुगेलगत्तै बागमती प्रदेशबाट राजनीतिक अस्थिरताको बिजारोपण भएको छ । किन स्थिरता भनियो र अस्थिरताको बिजारोपण गरियो ? कांग्रेसभित्रका गुट, उपगुटको सत्ता स्वार्थकै कारण बागमती प्रदेश सरकार ढल्न लागेको छ । आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न कांग्रेसका नेताहरू लामबद्ध भएर लाग्नु व्यक्ति र स्वार्थकेन्द्रीत राजनीतिकै परिणाम हो । अव यसका बाँछिटाहरू अरू प्रदेश, अनि संघमा कति पर्छ ? विस्तारै देखिदै जानेछ । भलै, एमालेभित्र बोल्यो कि पोल्योको जोखिम भएकाले प्रधानमन्त्री र सरकारबारे तैचुपमैचुपको अवस्था छ । तर चाहे कांग्रेस् होस् या एमाले, आन्तरिक शक्ति संघर्ष भने उत्कर्षमा छ ।
विपक्षमा रहेका दलहरूमा पनि सरकारलाई खवरदारी र जनतासँग साझेदारीभन्दा पदकै आशक्तिमा ध्यान देखिन्छ । यसलाई लोकतान्त्रिक अभ्यासको जलप लगाउन खोजिएला वा जिवन्त पार्टी भित्र फरक मतको अभ्यास भनिएला । तर यो न लोकतन्त्र हो, न फरक मत । यो मात्र व्यक्तिगत स्वार्थ टकराव र गुटगत भागवण्डा मात्र हो । यो अत्यन्त विडम्वनाको कुरा हो । बारम्बार सरकार ढाल्ने, सत्तासीन गठबन्धन भत्काउने प्रवृत्तिले मुलुकमा न त स्थिरता दिन सक्छ, न विकास र सुशासन सुनिश्चित हुन्छ । त्यसैले अहिलेको मूल आवश्यकता स्थिर, जवाफदेही र परिणाममुखी सरकार हो, न कि पुनः अस्थिरताको दलदल । त्यसैले सरकार ढालेर मुलुकलाई अस्थिरतातर्फ धेकेल्ने सबै खाले खेलहरु पूर्णरुपमा बन्द हुनुपर्छ ।