
पाल्पा, तानसेनमा मोटरसाइकल मर्मत गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको छ । त्रिपुत्र इण्टरनेशनलद्वारा सञ्चालित होण्डा स्वरुम तानसेन पाल्पाले जिल्लाका विभिन्न ठाउँमा रहेका ग्यारेजमा काम गर्दै आएका ४० जना प्राविधिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
स्वरुमले प्राविधिकहरुलाई सम्मान गर्नुको साथै उनीहरुसँग अन्तक्र्रिया समेत गरेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋृषिराम सुवेदीले सवारी दुर्घटना न्यूनीकरण गर्ने कार्यमा मोटरसाइकल मर्मत गर्ने प्राविधिकको महत्वपूर्ण भूमिका हुने बताए । होण्डा स्वरुम पाल्पाले गरेको प्राविधिक लक्षित यो कार्यक्रम प्रशंसनीय रहेको उनको भनाई छ । विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले मोटरसाइकल मर्मत गर्ने प्राविधिक सचेत भएमा धेरै अपराधिक घटना रोकिने बताए । मर्मत गर्न आएका चालकको घटना बारे यथार्थ बुझेर मर्मत गर्न उनले प्राविधिकहरुलाई सुझाव दिए । घटना घटाएर आएका मोटरसाइकल चालकको विवरण बारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत एसपी भट्टराईले आग्रह गरे । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले दुर्घटना वा चोरी गरेर आएका मोटरसाइकलको पहिचान गरेर मात्र मर्मत गर्नुपर्ने बताए । दुर्घटना न्यूनीकरण कार्यमा सहयोग गर्न उनले प्राविधिकहरुलाई आग्रह गरे । स्वरुमका सञ्चालक यज्ञ प्रसाद अर्यालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम गरेको बताए । संस्थाले व्यवसायसँगै सामाजिक काम गर्दै आएको उनको भनाई छ । श्रमको सम्मान गर्ने र कामप्रति प्रोत्साहित गर्न प्राविधिकलाई सम्मान गरिएको पनि अर्याले बताए । सञ्चालक अर्यालको अध्यक्षता, पत्रकार मिलन विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।