
पाल्पा, अब पाल्पामै विएस्सी सिएस आइटी पढ्न पाइने भएको छ । पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्यापसमा पहिलो पटक कम्प्युटर विज्ञान तथा सुचना प्रविधि ( विएस्सी सिएस आइटी) पढ्न पाइने भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत पाएसँगै यो शैक्षिक सत्रदेखि क्याम्पसले पठनपाठन सुरूवात गर्ने तयारी गरेको क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले बताए । शुक्रबार क्याम्पसमा पत्रकार सम्मेलन गरी क्याम्पस प्रमुख पन्थले समयको मागलाई मध्यनजर गर्दै विएस्सी सिएस आइटीको पठन–पाठन सञ्चालन गर्न लागिएको बताए । उनले भने “ विज्ञान विषय लिई कक्षा १२ वा प्रविधि धारतर्फ १०० पुर्णङ्कको फिजिक्स र १०० पुर्णङ्कको म्याथ उत्र्तिण गरी कम्तीमा सि गे्रड ल्याएका विद्यार्थीले यही विएस्सी सिएस आइटी पढ्न पाउन्छन् ।” यो कार्यक्रम ४ वर्षे अवधिमा ८ सेमेस्टरको हुने छ । जसका लागि ३ लाख ५० हजारसम्म खर्च लाग्ने क्याम्पसले अनुमान गरेको छ ।
यो कार्यक्रम एक वर्ष अघि नै ल्याउने तयारी भए पनि विविध कारणले ढिला हुन गएको क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख टंक भट्टराईले बताए । उनले भने “ ढिलै भए पनि पाल्पामा यो कार्यक्रम ल्याउन सफल भएका छौं , सबैको साथ र सहयोगले नै कार्यक्रम सफल हुने छ ।”
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेना, स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सभापति मिलन घर्ती मगर लगायतले कार्यक्रम समय सापेक्ष अनुरुप ल्याइएकोले सरोकारवालाहरुबाट आएका सुझावलाई ग्रहण गरी अगाडि बढ्न क्याम्पस प्रशासनलाई आग्रह गरे । पछिल्लो समय यो विषय अध्ययनका लागि विद्यार्थीहरुमा आकर्षण देखिन्छ । यो विषय अध्ययनका लागि हाल पाल्पा र आसपास जिल्लाबाट विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । यही पठन–पाठन सुरु भएपछि सूचना प्रविधिको विषयमा रुचि राख्ने विद्यार्थी र उनका अभिभावलाई बुटवल, काठमाण्डौं, पोखरा देखि छिमेकी मुलुक भारत जानुपर्ने बाध्यताको अन्त्य हुने छ । कार्यक्रममा सहभागी पत्रकारहरुले कार्यक्रम ल्याउने मात्र नभई त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थको अध्यक्षता, उपप्राध्यापक सन्तोष खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।