छन्दबहादुर पहराई मगर, गुल्मी
गुल्मी आफैमा एउटा भरपुर मनोरम पर्यटकीय जिल्ला हो । गुल्मीको रुरु (रिडि) क्षेत्र, सालिमे दह, सत्यवति थाप्ले, विचित्र गुफा, कंके देउराली जलासय तथा चरा संरक्षण, टिमुरे दह, रेसुङ्गा धाम आदि विशेष पर्यटकीय क्षेत्रमा पर्दछन् । बहुजातिय, बहुभाषिक तथा बहुसाँस्कृतिक एवं जैविक विविधताले भरिपूर्ण गुल्मी एकपटक भ्रमण गर्नका लागि अहिले गुल्मीले निरन्तर आह्वान गरिरहेको छ । गुल्मी जिल्लाको सदरमुकाम रेसुङ्गा नगरपालिका तम्घासको ‘जाउँ हिंड रेसुङ्गा’ भन्ने ठाँउ गुल्मी कै शिर हो । ऋष्य श्रृङ्ग्यको तपोभुमि मानिने रेसुङ्गाको धुरी वरीपरी विशेष गरी मगर जनजातिहरुको बाहुल्यता रहेको छ । त्रेतायुगमा अयोध्याका राजा दशरथलाई पुत्र प्राप्त गर्नका लागि रेसुङ्गाको तपोभुमिमा ऋष्य श्रृङ्ग्यसँग जडीबुटी मागेर दशरथ राजाका पत्निहरुलाई औषधिको रुपमा खान दिएपछि भगवान राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको विश्वास गरिन्छ ।
अर्कोतिर मगर ढुटमा रेसुङ्गा भनेको घाँस काट्न वा मेलापात गएका दिदिबहिनिहरु एकै छिन थकाई मार्न बसेर गीत गाउँने डाँडोलाई रेसुङ्गा भनिन्छ । यसै रेसुङ्गाको धुरिवरी तम्घासको खानी गाउँ, पराल्मी, बलिथुम, जुभुङ, गौडाकोट, दुविचौर, सिमिचौर सबै ठाउँमा मगर जनजातिहरुको घनावस्ती रहेको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले गुल्मीमा पर्यटक आकर्षण गराउनका लागि ’जाउँ हिंड रेसुङ्गा’ नारा बनाएको छ । रेसुङ्गा नगरपालिकाको विशेष पहलमा काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा ‘जाउँ हिंड रेसुङ्गा’ कार्यक्रम भव्यताका साथमा सफल पारेको छ । यसर्थ गुल्मी जिल्लामा आन्तरिक तथा छिटफुट रुपमा बाह्य पर्यटकहरु पनि आउँने क्रम जारी छ । रेसुङ्गालाई अयोध्याको रामायण सर्किटसँग पनि जोड्न पहल भईरहेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए । यसै सन्दर्भमा (जाउँ हिंड रेसुङ्गा) कार्यक्रमलाई सफल बनाउनका लागि मगर गुरुङ समुदायमा विशेष रुपमा झल्कने सोरठी, सालैजो, कौरा, यानिमाया, घाटु आदि नाच ठाँउ अनुसार देखाउने गरिन्छ । गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका तम्घासदेखि पुर्व वार्ड न.१३ दुविचौरको भगाँरी भन्ने स्थानमा विशेष गरी मगर समुदायको घना वस्ती रहेको छ । त्यस ठाँउमा मगर संस्कृति अन्तर्गतको यानिमाया, सोरठी, सालैजो र घाटु नाच देखाइन्छ । यसर्थ यहाँ घाटु नाचको बारेमा चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
घाटु नाचका विशेष संरक्षक भारतिय सेनाका भुपु सैनिक सुबेदार मेजर यज्ञमुर्ति श्रीस मगरको भनाई अनुसार घाटु नाचलाई ३० वर्ष पछि जगेर्ना गर्न पुर्णरुपमा सफल भएको हो । यस ठाँउमा मगर होमस्टे पनि सञ्चालन गरिएको छ । पृष्ठभुमी:- घाटु नाच सति घाटु र बाह्रमासे घाटु नाच गरी मुख्यतः दुई किसिमका हुन्छन् । सति घाटु नाच आध्यात्मिक शक्ति, दैविक शक्ति र स्थानीय देउ–देवतामा आधारित नाच हो । यस लेखमा सति घाटु नाचको बारेमा विशेष चर्चा गरिन्छ । सति घाटु नाचमा दुईदेखि तिन कन्याहरु (घाटुनिहरु) नाच्ने चलन छ । एक घाटु कन्या (घटुनि) ले राजाको अभिनय गरि नाच्छन् भने अरु कन्याहरुले रानिको अभिनय गरी नाच्दछन् । सिजनको सुरुमा घाटु गुरुबा र गुरुआमाहरुले गितको माध्यमबाट बोलाएर घाटुनिहरुलाई घाटु लगाउने गर्दछन् । त्यसपछिका दिनहरुमा विरपत (निधारमा बाध्ने रिवन) दिएर घाटुनिलाई घाटु लगाउने गरिन्छ ।
बिरपत चोखो कपडाको पट्टी हो जसलाई घाटुनिको शिरमा बाँधिन्छ । घाटुको मुख्य आकर्षण नै घाटुनिहरु हुन् । घाटु कन्याको आँखा बन्द हुने प्रक्रियालाई घाटु लाग्ने भनिन्छ । घाटुनिहरुलाई घाटु लागेपछि उनिहरुको आँखा बन्द भई घाटु लागि टाउको हल्लने गर्दछ । त्यसपछि त्यसदिनको अन्त्यमा बिरपट खोलेर गितको माध्मबाट घाटु छुट्टाउने काम गरिन्छ । घाटुनिको आँखा खोल्ने प्रक्रियालाई घाटु छुट्टाउने भनिन्छ । सति घाटु नाचमा घाटुनिहरु विवाह पश्चात नाच्दैनन् तर उनीहरुले गुरुआमाको भूमिका निर्वाह गर्दछन् । घाटु नाच बुद्ध पुर्णिमाबाट नाचिने भएकाले बुद्ध धर्मसँग जोडिएको मानिन्छ भने हिन्दु धर्मको प्रभाव भएको ठाँउमा रामायण र महाभारतका गीतहरु गाउँने प्रचलन बढेको भनेर भन्ने गरिन्छ । बाईसे चौबिसे राज्यको राजनैतिक संरचनामा पनि घाटु नाच झल्केको पाईन्छ । घाटु गीतको लडाई खण्डमा पर्वते राजा र मगराते राजाको लडाई हुन्छ । यस गीतमा मगराते राजाको मृत्यु पश्चात छ वटी रानीहरु सति जान्छन् ।
चोखो निस्तो र घाटु कन्याको छनौट – गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका– १३ स्थित दुविचौर भगाँरीका सति घाटु समितिका संरक्षक तथा संयोजक यज्ञमुर्ति श्रीस मगरको जानकारी अनुसार माघ महिनाको श्रीपंञ्चमी दिन घाटु प्रारम्भ गरि बैशाख बौद्ध पुर्णिमाको दिन विशेष प्रदर्शन गरिन्छ भने जेष्ठ महिनाको औंसिमा समापन गर्ने चलन छ । सर्वप्रथम कालुगाईको गोबरले शुद्ध रुपमा भुई लिपेर सरसफाई गरेर त्यसैमा पिर्का वा फल्याक बिच्छाएर तिनदेखि पाँच कन्या घाटुनिलाई नाचको लागि तयार गरिन्छ । घाटु गीतमा विशेष देवि देवताको नाम उच्चारण गर्ने भएकाले कन्याहरु नुहाई धुवाई तथा सरसफाई गरि चोखो निस्तो बसालिन्छ भने घाटुका गुरुबा र गुरुआमाहरु पनि शुद्ध खाना खाई सरसफाई गरेर तयार भएर बस्छन् । घाटु गीतमा ठूला ठूला देवि देवताहरु र स्थानीय देविहरु गीतबाट पुकार्दै जाँदा कन्याहरुलाई घाटु लागेर विस्तारै आँखा बन्द गर्ने र टाउको हल्लाउने गर्छन् । पहिला घाटु लाने कन्याले राजाको भूमिका निभाउँछन् भने पछि घाटु लाग्ने कन्याले रानीको भुमिका निभाउने गर्दछन् । यसरी घाटु गीतमा सामाजिक, भौगोलिक तथा राज्य व्यवस्थाको बारेमा र धार्मिक एवं साँस्कृतिक वर्णन गरिएको पाईन्छ । घाटु गीत र नाचको प्रभावले दैविक प्रकोप, रोग व्याधि, खडेरी, डढेलो र प्राकृतिक प्रकोप नहुने समाजमा शान्ति सद्भाव कायम रहने जनविश्वास छ । यस लेखमा अब घाटु गीतको बारेमा संक्षिप्त चर्चा गरिन्छ ।
चौका लिप्ने गीत – चौका भन्नाले नाच्ने ठाँउलाई भनिन्छ । लीप हरे बैनाले (दुई पटक), काली गाईको गोबरले लिपौला, हेरे गंगा जलले लिपौला, लिप हरे बैनाले कालि गाईको गोबरले लिपौला, यसरी कालि गाई, मालि गाई, चौरी गाई आदि गाईको गोबरले लिपौला भन्दै गीत घाटुका गुरुबा र गुरुआमाबाट गाउने गरिन्छ ।
देवता आह्वान गर्ने गीत – खासमा घाटुनिलाई विभिन्न किसिमका देवि देवताहरुको नाम लिएर गीत गाउँदा घाटुनिलाई घाटु लागि आँखा बन्द हुने र विस्तारै टाउको हल्लाउने गर्छन् । आकाशै हो चन्द्र सुर्य चलि आउन, हेहेरे बाली र कन्याको आङै ज भरि भरि चलि आऊन,आकाशैको नौ लाख तारा, पातालैको वासुकि नाग, रेसुङ्गाको बाल सिद्ध, बुढि झिर्मीको झुमा देवि, हेहेरे वालि र कन्याको आङै ज भरि भरि चलि आउँन भनेर गाईन्छ । यसैगरी तम्घासैको वराह देवता, अर्घाको आलम माई, उल्काको छत्र वराह, गुल्मी खैया खडक बराजु, गुल्मी सैयाको भैरव देवता, गुल्मी दरबारको ईश्वरी माई, बिरबासैको जिजु माई, गुल्मीको शितल माई, रिडिको रिसेश्वर देवता, गोखुङ्गाको रैनादेवि, पाल्पाको भैरव देवता, नेपालैको पशुपतिनाथ, नेपालैको बागमति, नेपालैको नारायणी,बागमती, गुहेश्वरी, हिमालैको माछापुछ्रे र यहाँ केरे भुलेविर्से देवता हेहेरे बालि र कन्याको आङै ज भरि भरि चलि आउन भनेर निकै गहिरिएर ढिलो भाकामा गीत गाउँछन् ।
बिरपत बाँध्ने गीत – गुरु आमाको आँगनीमा बाँध्यौ बिरपत, हेरे रानी ज हो सत्यवती बाँध्यौ बिरपत गुरुआमाको आँगनीमा, सीता रानी बाँध्यौ बिरपत, तिर्थ रानी बाँध्यौ बिरपत, याम्फै रानी, घ्याम्पै रानी, लक्षे रानी आदि बाँध्यौ बिरपत हेरे गुरुआमाको आँगनमा भनेर गाईन्छ । यसैगरी चारैकोसे पेडुकिमा नाच्दा चारैकोसे पेडुकिमा बैठला, हेरे रानी ज हो सत्यवती नचैला, सीता रानी, तिर्था रानी, घ्याम्पै रानी आदि नाचैला भनेर गाँउने गरिन्छ । देवलमा (चोखो निस्तो) ठाँउमा नाच्ने गीतमा बसी नाचन देवलैमा उठी नाचन देवलैमा, देवलैको आधारैमा नाच सत्यवती, सीता रानी, तिर्था रानी, याम्फै रानी घ्याम्पै रानी, लक्षे रानी बसी नाचन देवलैमा, उठी नाचन देवलैमा भनेर गाईन्छ ।
घाटुनीले नुहाउने र चुल्ठी सुकाउने गीत :- रानी ज हो सत्यवती नुहावैला हेरे नुहावैला सहस्रधारा पधेरीमा नुहावैला, सीता रानी, तिर्था रानी, याम्फै रानी, घ्याम्पै रानी, लक्षे रानी हेरे नुहावैला पन्चधारा, झिङखानिको पधेरीमा नुहावैला यसै गरी चुल्ठी सुकाउदा गाउने गीतमा सत्यवति रानीको चुलठी त सुकावैला, सीता रानी, तिर्था रानी आदि सुकावैला भनेर गाईन्छ । क्रमशः आफ्नो चुल्ठीमा लगाउन तेल, रानी ज हो सत्यवती लगाउ तेल, भन्दै अन्य रानीको यसैगरी नाम पुकारिन्छ । कपाल कोर्ने गीतमा कोर हरे सत्यवती आफ्नो कपाल कोर भन्दै अन्य रानीको नाम लिईन्छ । डोरी बाट्ने,टिकिया लगाउने पनि यसै गरी गाना गाउने चलन छ ।
देवता पुज्ने,गौरी थानलाई पुज्ने र आफ्नो देवतालाई जुहार्ने गीत :- क्रमशः चोखी हो चोखी पानीले पुजौला, हेहेरे आफ्नो ज हो देवतालाई पुजौंला, पुजहरे सत्यवती पुजौला, हेहेरे आफ्नो गौरी थानलाई पुजौला, धरति मातालाई जुअरौला, जुहरौला बैनाले जम हातैले जुहरौला, आकाशैको चन्द्र सुर्यलाई जुअरौला, हेहेरे बैनाले जुअरौला, गुल्मीको शितल माई जुअरौला बैनाले, यहाँ केरे हो भुले बिर्से देवता जुअरौला बैनाले, जुम्ले हातैले जुअरौला यसरी पुकारिन्छ ।
रानीको श्रृगांरको गीत :- सिन्दुरैको याम्बरना हाम्रो के जाने, हरे कछुवारीको जातैले जानैला,राजै ज्युले दिएको शिरफुल झमक्कै झमराईलो, हेरे के गरि पैरम बाबै आमै झमक्कै झमराईलो,यसरी कमशः गाईन्छ भने फुल लगाउने गीतमा फुलमा राजै फुली गयो सुर्यमण्डल फुल, हेहेरे राजै फुलि गयो तारा मण्डल फुल यसरी गाउँछन् ।
चरीलाई राम देखाउने गीतमा लागि गयो चैतको महिना पातै झरि गयो, हेरे चरा र चुरुङ्गीको मनै उदाश, लगि गयो बैशाख महिना बनै हरियो, नाची रहे लक्षे रानी हेर चरि राम, हरे चापैको डाली बसी, ढकिया नचाउने गीतमा पुज हरे सत्यवति पुजैला, हरे आफ्नो देवतीलाई पुजौंला भन्दै क्रमशः गाईन्छ ।
यसै गरी घाटु गीतमा खेत जोत्ने गीत, धान रोप्ने गीत, शिकार खेल्नको लागि धनु बनाउने गीत, शिकार खेल्ने गीतहरु निकै भाका हालेर गाउँछन् । हिन्दु धर्मका दर्शन सम्बन्धी गीतहरु जस्तो रामायणको कथाहरुमा सीता माईको रावणद्वारा अपहरण भएको गीत निकै रोचक छ । घाटुमा राजा र रानी जुवा खेलेको,पर्वते राजासँग लडाई गरेको, मगराते राजा पर्वते राजासँग लडाँईमा मरेपछि रानीहरु सति जानु अघि छोरोलाई धाई आमाको जिम्मा लगाएको गीत निकै मार्मिक छ । हामी जान्छौ स्वामी साथमा आऊन धाई आमा,हेरे हाम्रो बालकृष्ण तिम्रै शरण भनेर गाउँछन् । जमुनाको तिरमा जाने, राजाको दाहसंस्कार गर्ने, रानीहरु राजाको सल वरिपरी घुम्ने गीत मज्जाले गाईन्छ । घाटु छुटाउने गीतमा घाटुको गीतबाट घाटु कन्याको आँखा खुल्छ, फुलमा राजै फुलिगयो पातिसरी फुल हेहेरे राजै फुलिगयो भनेर गाईन्छ । देवतालाई विदाई गर्ने, कंठसरी गीतमा यो कंठशरी सिन्दुर पैरम दश बिस पोई कैले राम, हाय राम, पातकी भए कैले राम, यो कंठशरी गाजलुमा पैरम, सफाई काय मनमाया मति घर जावैन, सुखीमा हारी घाघरुमा पैरम, सफाई काय मनमया मति घरै जावैन यसरी अन्तिमतिर गाउने गर्दछन् ।
तसर्थ घाटु नाच र गीतले तत्कालिन समयको घटना, अवस्था, कथा प्रसंग, भुगोल, समुदाय सबैको सम्झना दिलाएको हुन्छ । यो गीत र नाच क्रमैसँग गाउँने हो भने तिन रात तिन दिन सम्म पनि सक्न मुस्कील पर्ने घाटु गुरुबा र गुरुआमाहरु बताउँने गर्नुहुन्छ । गुल्मीको घाटु विशेषलाई सम्झेर जाउँहिड रेसुङ्गा कार्यक्रममा सभागी बनौं । अस्तु ।
(लेखक नेपाली काँग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सदस्य समेत हुन् । )