Shittalpati
फोटोग्राफी दिवसको सन्दर्भ

‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन । क्यामेराको अविष्कारसँगै शुरु भएको फोटोग्राफी विश्वभरमा स्यामेस्वेतबाट रङ्गीनसम्म आइपुगेको छ । महङ्गा हाते क्यामेरादेखि हात हातमा उपलब्ध सस्ता मोबाइल क्यामेराले फोटोग्राफीलाई अहिलेको युगसम्म ल्याएका छन् । समयसँगै फोटो खिच्ने तरिका र शैली परिमार्जित हुँदै पनि आएको छ जसले फोटोग्राफी जगतमा एउटा नयाँ तरंग थपिदिएको छ । आ–आफ्नो समयका कथा, वस्तु, प्रक्षेपण गर्न फोटोग्राफीले गरेको योगदान सम्झँदै हरेक वर्ष अगस्त १९ को दिन संसारभर विश्व फोटोग्राफी दिवस मनाइन्छ । आज नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

नेपालमा पनि यो दिवस मनाउन थालेको धेरै भएको छैन । फोटाग्राफीको महत्व दर्शाउन यो दिवसले निकै ठूलो सहयोग पु¥याएको छ । अझै पनि फोटोग्राफीप्रति आम मानिसहरूको धारणा सकारात्मक बन्न सकेको छैन । फोटो खिच्ने काम र पेशालाई सानो काम भनेर तुच्छ बनाउने गरिएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यवसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । आजको दिन विश्वभरका फोटोग्राफरहरूले खिचेका ऐतिहासिक र उत्कृष्ट फोटोहरू प्रतिष्पर्धामा राख्ने प्रचलन पनि रहेको छ । फोटोग्राफीलाई अवहेलना गर्ने गरिएपनि वास्तवमा एउटा फोटोले दिने सन्देश र महत्व एकहजार शब्दले ब्यक्त गर्न सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन । नेपालमा फोटोग्राफीको महत्व अझै जनजनमा पुग्न सकेको छैन । यद्यपि विश्वमा भने यसको महत्व निकै ठूलो र ब्यापक छ । पछिल्लोसमय फोटोग्राफीप्रति रूची हुनेहरूको संख्या बढ्दै गएको छ तर विविध कठिनाईका कारण अझै पर्याप्त भैसकेको छैन । अर्को चुनौतिको कुरा के हो भने फोटोग्राफीमा लागेका फोटोग्राफरहरूको जीवन यो पेशाले सुरक्षित गर्न सकेको छैन । फोटोग्राफीमा रुची हुनेहरूले यसलाई जीवनको अभिन्न अंग बनाउन सकेका छैनन् किनभने यो पेशाबाट आत्मनिर्भर बन्न ग्राहो छ । तसर्थ दिवसको अवसरमा यसको महत्वलाई अझै बढाउने तथा उजागर गरी आत्मर्निभर तर्फ हामी सबैको ध्यान जानु जरूरी छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update