
रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् । आफूहरूले सामान ढुवानी गर्दा भाडा धेरै तिर्नुपरेको भन्दै मूल्य बढाएर बेचेको व्यापारीहरूले नै स्वीकार गरेका छन् । खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दावी गरे पनि बजारमा भने उपभोग्य वस्तुको मूल्य अकाशिएको हो । सम्बन्धित निकायले यसलाई गम्भीरताका साथ नलिदा उपभोक्ता मारमा परेका छन् ।
स्थानीय प्रशासन, घरेलु कार्यालय, खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, उद्योग वााणिज्य सघं, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहको हकमा उप–प्रमुख तथा उपाध्याक्षको नेतृत्वमा नियमित रुपमा बजार अनुगमन गर्ने कानुनी प्रवधान भएपनि त्यसको बेवास्ता गरेको देखिएको छ । जिल्लाका केही स्थानीय तहहरुले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार गरेपनि बजार अनुगमन भने प्रभावकारी हुनसकेको छैन । लकडाउनको फाइदा उठाउदै जिल्लाका व्यापारीहरुले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तुमा ढाडै सेक्ने गरी मूल्य वृद्वि गरेका छन् ।
बजार अनुगमन तथा नियमन गर्ने निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको कारण व्यापारीहरुले उपभोग्य वस्तुमा दसदेखि बीस प्रतिशतसम्म मूल्य वुद्धि गरेको पाइन्छ । एक महिनाअघि प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँमा पाइने मुसुरो दालको खुद्रा मूल्य अहिले १ सय ३० भन्दा माथि पुगेको छ । त्यसरी नै मास, रहर र मुंमको दालको पनि मूल्य बढेको छ । मासको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ६०, रहरको दाल प्रतिकिलो १४० बाट १ सय ६० तथा मुंमको दाल प्रतिकिलो १ सय ५० बाट बढेर १ सय ८० रुपैयाँ पुगेको छ ।
हरेक ब्रान्डको चामलमा प्रतिबोरा १ सय रुपैयाँसम्म बढाएर बेच्ने गरेको तानसेनका खुद्रा व्यापारी विष्णु गाहाले बताए । सनफलावर र भटमासको तेलसमेत प्रतिलिटर २० रुपैयाँसम्म बढाएर बेच्नुपर्ने उनले बताए । यी बाहेकका उपभोग्य वस्तुमा पनि यसै अनुपातमा मूल्य बढेको छ । होल्सेल व्यापारीहरुले महंगोमा समान बेच्दा आफुहरुले महंगोमा समान खरिद गरी बेच्नु परेको खुद्रा व्यापारी गाहा बताउँछन् ।
थोक विक्रेताहरूले सरकारसमक्ष खाद्यान्नको स्टक धेरै भएको र मूल्य नबढेको जानकारी गराए पनि खुद्रा व्यापारीहरूसँग ढुवानी मूल्य र ढुवानी गर्ने कामदारहरूलाई बढी ज्याला तिर्नुपरेको भन्दै बढी मूल्य असुलेको र नक्कली बिल दिने गरेको खुद्रा व्यापारीहरूको गुनासो छ । वर्तमान परिस्थितीमा कालो बजारी गर्नेलाई कालो बजारी ऐन अन्तर्गत कानुनी कारवाही हुने पाल्पा उद्योग वाणिज्य सघंका अध्यक्ष राजु महर्जनले बताए । सघंले
व्यापारीहरुलाई सुरुमा मूल्य वृद्धि नगरी सहजरुपमा उपभोग्य वस्तुको आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिसकेको छ । त्यति गर्दासम्म बदमासी गर्यो भने कानुनी कठघरामा उभिन पर्ने उनले बताए । जिल्लाको हकमा बजार अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासनको हो । कोरोना भाइरस संक्रमण हुन्छ कि ? भन्ने भयका कारण अनुगमन नगरिएको एक जिम्मेवार कर्मचारीले बताए । सदरमुककाम र सदरमुकामसँग जोडिएका बजारमा यसरी मूल्य वुद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।