Shittalpati
बाल ज्योति प्राविको उन्नतिको यात्रा

पाल्पा, कक्षा पाँचसम्म पढाइ हुने तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयमा विद्यार्थी न्यून भएपछि अर्को विद्यालयसँग मर्ज गर्ने अवस्थामा पुगेको थियो । २०६९/०७० तिर विद्यार्थी संख्या २० जना थिए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले स्कूल मर्च गर्ने बताएको थियो । गाउँलेले सुधार्ने भन्दै समायोजन नगर्न माग राखे । विद्यालयले घरदैलो गरेर अभिभावकको चाहना बुझ्यो अभिभावकले अंग्रेजी माध्यमका बोडिङ स्कूलको भन्दा राम्रो पढाइ हुनुपर्ने माग राखे । विद्यालयले त्यही अनुसार सुधारको काम थाल्यो । संकटमा परेको त्यही विद्यालय अहिले नगरपालिकाकै उत्कृष्ट बन्न सफल भएको छ ।

अहिले विद्यार्थी संख्या १२० पुगेको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन् । तर, बाल ज्योतिले भने अंग्रेजी माध्यममा पढाई सुरु गरेपछि हरेक वर्ष पढ्न आउने विद्यार्थीको संख्या बढेको हो । धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हुने सामुदायिक विद्यालयमा पढाउने लहर नै चलेको अवस्थामा यस विद्यालयले अभिभावकहरुको चाहाना अनुरुप २०७० देखि पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्न थालेपछि उन्नतीको यात्रा सुरु भएको छ । विद्यालयले बाल कक्षादेखि नै अंग्रेजी माध्यम पढाइ सञ्चालन गरिरहेको छ । जसका कारण विद्यालयले उन्नती गर्न सफल भएको हो । विद्यालयको भौतिक संरचना समेत अब्बल रहेका छन् । गेट भित्र छिर्नासाथ विद्यालयको वातारण नै शान्त र सुन्दर रहेको छ । अभिभावकले महंगो नीजि स्कुलबाट सन्तान ल्याएर यसमा भर्ना गरेका छन् । व्यवस्थापन समितिका अध्यक्ष गम्वीरजंग रायमाझी दैनिक विद्यालय आएर विद्यार्थीहरुको पढाइ बारे शिक्षकलाई सोध्ने गर्छन । ‘२०७६ सालमा म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आउँदा विद्यालयको व्यवस्थापनदेखि गुणस्तरी शिक्षामा कटिवद्ध भएर लागेको छु,’ अध्यक्ष रायमाझीले भने,‘अभिभावक र स्थानीयबीच छलफल डाके, पढाइमा अब्बल बनाउन धेरै मेहनेत गर्‍यौं ।’ अंग्रेजी माध्यामबाट पढाइ भएपछि अभिभावकको ध्यान तानिएको उनले बताए । अहिले अंग्रेजीमा बालविकासदेखि कक्षा ५ सम्म नै पढाई हुँदै आएको रायमाझीले बताए । विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, भूकम्पप्रतिरोधी भवन संरचना रहेका छन् । विद्यालयले विद्यार्थीहरुलाई विद्यालयमै खाजाको व्यवस्था समेत गरेको  छ । उसले विद्यार्थीहरुलाई ४ बजेपछि छुट्टै कक्षा समेत दिदै आएको छ । अहिले यस विद्यालयले ऋण काढेरैभएपनि छोराछोरीलाई बोडिङ पढाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ ।  गाउँका धेरैले बोडिङ छाडेर यहाँ भर्ना गरेका छन् । स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र गाउँले जागरुक र प्रतिबद्ध भएर लाग्ने गरेका छन् ।

विद्यालयको ३१ औं वार्षिक उत्सव
२०४९ मा स्थापना भएको बाल ज्योति प्राविले ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको  छ ।  विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । कार्यक्रमको लुम्बिनी प्रदेश सांसद वीर बहादुर रानाले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद रानाले शैक्षिक क्षेत्रमा विद्यालयले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले ३१ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे ।

सांसद सांसद रानाले अबको आवश्यकता व्यवसायिक र प्राविधिक भएकाले त्यसतर्फ ध्यान दिन समेत स्कूललाई आग्रह गरे । उनले कोरा शिक्षाले मात्र अब विश्वसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै प्राविधिक र व्यवसायिक शिक्षा उपलब्ध गराउने दिशामा सोच्नुपर्नेमा जोड दिए । कार्यक्रमका तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदिप खनाल, निवर्तमान वडा अध्यक्ष मुक्तिराम जिसी, विद्यालयका निवर्तमान प्रधानाध्यपक गोविन्द घिमिरे, सिद्धार्थ मल्टि टेक्निकल इन्स्टिच्युटका प्रमुख हरि प्रसाद कोइराला, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी,जन प्रिय माविका प्रअ हिरा आर्चाय, काजीपौवा कृषि सहकारी सस्थाका अध्यक्ष महेश शर्मा आर्चाय, स्वयसेविका सावित्री अधिकारी, चन्दा दाता गीरबहादुर बगाले, रोमबहादुर रायमाझी, शिक्षक अभिभावक संघका अध्यक्ष दिपा थापा लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक बिष्णु बहादुर थापाले विद्यालयको  वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्वीरजंग रायमाझीको अध्यक्षता, शिक्षक कविता बस्यालको स्वागत, तुलसा पछाईको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update