
पाल्पा, हरितालिका तिजको पूर्व सन्ध्यामा रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा १५ वटा विभिन्न संघ संस्था तथा समूहले सहभागीता जनाएका थिए । प्रतियोगितामा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको अनिसा रानाको समूह प्रथम, नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस शशी ढकालको समूह द्वितिय, क्षेत्री समाज रामपुरको समूह तृतीय र नव दुर्गा आमा समूह दुर्गा भट्टराईको समूह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक लेखनाथ शर्मा मरासिनीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पुस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा सहभागीहरुले गीतमार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भूमिकासहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए । प्रतियोगिताको राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले उद्घाटन गर्दै वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताइन् । अधिकार सम्पन्न हुँदाहुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेद्मा परेको उनले बताइन् । “विगतमा पुरुषहरुले आफ्नो अनुकुल कानुन निर्माण गरेकाले महिलाहरु पछि परे पनि वर्तमान संविधान र व्यवस्थाले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ” उनले भनिन “यो वर्तमान व्यवस्थालाई फेल हुन दिनुहुदैन यो व्यवस्था अत्यन्तै राम्रो छ । संघीयता कै कारण जनताको घर दैलोमा सिंहदरबार आएको छ ।” सापकोटाले हाम्रो धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न नहुने धारणा राखिन ।
कार्यक्रममा रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सल्लाहाकार विष्णु देवि घिमिरे आचार्यले महिलाहरु संगठित भएर विगतमा गरेको संघर्षले वर्तमान उपलब्धी प्राप्त गरेको बताउँदै यसलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा जोड दिइन् । जनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उनले उल्लेख गरिन् । अर्का सल्लाहाकार विष्णु माया ढकालले महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउन सके मात्र मुलुकको विकासले गति लिने बताइन् । कार्यक्रममा नेपाल महिला संघ रामपुरका उपाध्यक्ष सावित्रा गैरे, अखिल नेपाल महिला संघ रामपुरका उपाध्यक्ष राधिका भण्डारीले आफ्नो धारणा राखेका थिए । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले तिजको मौलिकपनलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताइन् । तिजको मौलिक भाका संरक्षणसँगै पर्वको नाममा भित्रिएका विकृतिलाई हटाउन सचेतनाका लागि कार्यक्रम गर्दै आएको उनको भनाई छ । उपप्रमुख थापाको अध्यक्षत, सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत, न्यायिक समितिका सचिव पार्वती परियार र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।