
विशेष गरी नेपाल र भारतको तराई क्षेत्रमा सर्पदंश घटनाहरू बढी हुने गर्दछन् । सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हो जसले पर्यावरणको सन्तुलन कायम गर्न मद्दत गर्छ । तर, विशेषगरी गर्मी र वर्षायाममा (वैशाखदेखि भदौसम्म), सर्पदंशका घटना तीव्र रूपमा बढ्ने गर्छन्, जुन मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बन्ने गरेको छ । नेपालमा करिब ९० प्रजातिका सर्प पाइन्छन्, जसमध्ये २० प्रजाति विषालु हुन्छन् । गोमन, करेत, रसेल्स भाइपर र स–स्केल्ड भाइपर जस्ता सर्पहरू मानिसलाई बढी डस्ने प्रजातिहरू हुन् । सर्पदंशको उपचारका निम्ति सरकारले निःशुल्क मलम उपलब्ध गराउँछ । ‘एन्टी स्नेक भेनम सेरम’ मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएता पनि सर्पले टोकेर बिरामी हुनेको संख्या न्यून हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको विवरणअनुसार नेपालमा वार्षिक करिब एक सय जनाको सर्पदंशका कारण मृत्यु हुने गरेको छ । मानवीय गैरजिम्मेवारका कारण ठूलो संख्यामा नेपालीहरू सर्पदंशबाट प्रभावित हुने गरेका छन् । यो अत्यन्त दुखको कुरा हो ।
चिकित्सकहरूका अनुसार गर्मी बढेसँगै सर्प जमिन बाहिर निस्कन्छन्, यो प्राकृतिक विषय हो । सर्पबाट छल्दै मानिसले जीवन जिउने हो । यसका निम्ति धेरै केही गर्नुपर्दैन । घर वरिपरि नियमित सरसफाइ गर्ने हो । सर्पलाई नचलाउने गर्दा मात्रै पनि बच्न सकिन्छ । सरकारी अधिकारीहरूका अनुसार सामान्यतयाः हिँड्दै गर्दा, घाँस काट्न जाँदा, खेतबारीमा काम गर्दा सर्पले टोक्ने गरेको पाइन्छ । जंगल, झाडीमा जाँदा सर्प छ कि छैन भन्ने ख्याल नगर्दा पनि समस्या हुने गरेको छ । घाँस काट्न जाँदा होस् वा खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउनेलगायतका सावधानीका उपाय नअपनाउँदा सर्पले टोक्ने गरेको छ । यसर्थ सर्पदंशको जोखिमबाट बच्न व्यक्ति स्वयं सतर्क हुन जरुरी छ । सरकारले पनि यसका निम्ति लगानी गर्न आवश्यक छ ।