Shittalpati
युवालाई विदेश पलायन हुनबाट रोकौं

सुनिल परियार

देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा युवाहरु विदेश पलायन हुने थिएनन् तर त्यो हुन सकेको छैन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । देशमा गुणस्तरीय उच्च शिक्षा र त्यसपछिको रोजगारीको सुनिश्चितता हुन नसक्दा बर्सेनि हजारौँ मेधावी प्रतिभा अध्ययन तथा जागिरका अवसर खोज्दै पश्चिमा मुलुकमा छिरिरहेका छन् ।

श्रमका लागि खाडी पस्ने युवाबाट मुलुकले रेमिट्यान्सका रूपमा आर्थिक लाभ लिइरहेको भए पनि अध्ययनका लागि विकसित मुलुकमा छिर्ने युवाबाट भने दोहोरो मार बेहोरिरहेको छ । एकातर्फ मुलुकको भविष्यका बौद्धिक जनशक्ति देशले गुमाइरहेको छ भने अर्कोतर्फ उनीहरूको शुल्क तथा खर्चका लागि वार्षिक रूपमा अर्बौं रुपियाँ विदेश पठाउनु परिरहेको छ । अध्ययनका लागि विकसित मुलुकमा गएका युवाबाट मुलुकले हालसम्म उल्लेख्य रूपमा उनीहरूको आम्दानीबाट लाभ प्राप्त गर्न सकेको छैन । अध्ययनका लागि बिदेसिएका युवा जनशक्ति उनीहरूले भनेको उच्च अध्ययन पूरा गरेपछि नेपाल फर्किएका घटना पनि विरलै हुने गर्दछन् । मुलुक बनाउने जनशक्ति नै उच्च शिक्षाका नाममा पलायन हुन थालेपछि यसले नेपालको हरेक क्षेत्रमा गम्भीर क्षति पु¥याउने निश्चित हुँदा समेत सरकार मौन बस्नु विडम्वनाको कुरा हो । यही युवा जनशक्ति विदेश पलायन र  यसले निम्ताएको अवस्थाका बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । 

युवा जनशक्ति कुनै पनि राष्टूको विकासको आधार हो । युवा राष्टूको एउटा मेरुदण्ड पनि हो । उनीहरूलाई कसरी उपयोग गर्ने भन्ने कुरामा निर्भर हुन्छ देशको भविष्य । नेपाल ति मुलुकहरुको अग्रपंक्तिमा पर्दछ जहाँबाट हजारौ युवाहरु वर्षेनी आफ्नो बाबा आमाको काख र समाज, साथी भाई, घर परिवार, आफु जन्मेको  माटो र जन्मेको देशलाई त्यागेर मन भरी पिडा बोकेर र देशको मायाँ र आमाको माया लाई मुटुमा राखेर आफ्नो सपना पुरा गर्नको लागि विदेशीने गर्दछन् । अहिले पछिल्लो समयमा पनि दैनिक १५०० युवाहरु विदेशीने गर्दछन् । ती मध्ये सबैभन्दा बढी नेपाली युवा जनशक्ति जाने भनेको खाडी मुलुकको साउदी, मलेसिया, कतार दुबै यी देशहरुमा रहेका छन् । केहि मात्रामा युवाहरु युरोपियन देशहरुमा गएको पनि हामीले देख्न सकिन्छ र अहिले पछिल्लो समयमा जापान कोरिया र अष्टूेलिया जस्ता देशहरूमा पनि नेपाली युवाहरु बढी आकर्षित भएर गएको हामीले देख्न सकिन्छ । युवा जनशक्ति विदेश पलायन नेपालको लागि गम्भीर चुनौतीको रुपमा हामीले लिन सकिन्छ । किनकी युवाहरुले नै देशलाई बनाउन सक्ने भएकाले युवाहरु नै विदेश पलायन भए पछि अब यो देश कता तिर जाला भनेर हामीले सोच्ने बेला आएको छ । हाम्रो देशमा निरन्तर चलि राख्ने राजनीति अस्थिरता देशमा बेरोजगारी औद्योगिक सिमितका कारण नेपाली युवा जनशक्तिहरु विदेशीन बाध्य भएका छन । हाम्रो देशमा गणतन्त्र स्थापना भएता पनि अझै पनि युवा जनशक्तिहरु ले देशमा रोजगारी पाउन सकेका छैनन र देशमा युवाहरुको लागि आर्थिक समृद्धिको मार्ग प्रसस्त हुन सकेको छैन । देशमा रोजगारीको अभावका कारण आज पनि नेपाली युवाहरुले वैदेशीक रोजगारीलाई सहजताको रुपमा लिनु परेको छ । युवाहरुको निरन्तर विदेश पलायनले यो देशको दिर्घकालिन आर्थिक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव परेको देख्न सकिने निश्चित रहेको छ । यदि युवाहरुले यही देशमा बसेर सहज लगानी गर्न पाएको भए  देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान हुने थियो । उनीहरुको सिर्जनात्मकता सिप र जोशले स्वदेश मै उद्यमशीलता र औद्योगिकरणलाई गति दिन सक्थे । तर गुणात्मक रोजगारीको अभावले गर्दा श्रम शक्ति बाहिरीन बाध्य रहेको छ । जसले दिर्घकालिन रुपमा यो देशलाई कमजोर बनाइरहेको छ । सरकारले युवा जनशक्तिहरु लाई यहिँ देशमा रोक्ने प्रभावकारी योजना अझै पनि ल्याउन सकेको छैन । तर राज्य भने युवाहरूले पठाएको रेमिट्यान्समा रमाइ रहेको छ । सकारात्मक पक्षबाट हेर्ने हो भने कुल राष्टिूय आयको ठुलो हिस्सा ओगटेको रेमिट्यान्सले गरिबी न्युनिकरणमा उल्लेखीय भुमिका खेलेको छ । साथै युवाहरुले विदेशमा आधुनिक सिप तथा प्रविधिहरु सिक्न पाएको छैनन । जसले दिर्घकालिन रुपमा यो देशलाई सहयोग पुग्न सक्छ । तर यसको अर्काे पक्षले सामाजिक मुल्य मान्यता, संस्कार र पारिवारिक सम्बन्धहरुमा पनि प्रभाव पारिरहेको छ । विदेशीने परम्पराले सम्बन्ध विछेद जस्ता घटनाहरु घटाउने परिवारमा विखण्डन ल्याउने र सामाजिक संरचनालाई कमजोर बनाउने प्रवृत्ति बढाएको छ । समग्रमा युवा जनशक्तिको विदेश पलायनका नकारात्मक प्रभाव दिर्घकालिन रुपमा गम्भिर देखिन्छ । देशको आर्थिक समृद्धि र विकासको लागि युवाहरु स्वदेश मै संलग्न हुनु आवश्यक देखिन्छ । त्यसैले राज्यले प्रभावकारी निति निर्माण गरी युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था मिलाएर युवा जनशक्ति हरुलाइ रोक्न आवश्यक देखिन्छ । 

नेपाली युवाहरु कामको खोजीमा विदेश धाइरहँदा नेपालले पुँजी, मस्तिष्क र युवाशक्ति गुमाइरहेको छ । युवाले शिक्षा, स्वास्थ्य र रोजगार चाहेका हुन् । त्यो नभएपछि उनीहरु अहिले भौँतारिएको अवस्थामा छन् । नेपाली समाजमा बढ्दै गएको परनिर्भरतालाई पर सारेर आत्मनिर्भर कसरी हुन सकिन्छ, अहिले सोच्ने बेला आएको छ । देशमा भएका उद्योग, कलकारखानाहरु बन्द गर्नु राम्रो होइन । थप उद्योग, कलाकारखानाहरु सञ्चालन गरेर स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्नेमा उल्टै बन्द गराउनु गलत हो । साँच्चिकै मुलुक बनाउने हो भने उर्जावान युवाहरुलाई स्वदेशै राख्न सक्नुपर्छ तर राजनीतिक दल र सरकारमा अझै पनि आर्थिक, शैक्षिक, औद्योगिक चेतनाको विकास हुन सकेको छैन । जसका कारण युवालाई देशमै रोक्न सकिएको छैन । स्वदेशमै उद्योगधन्दा कलकारखाना सञ्चालन गरी युवाशक्तिलाई यही राखेर काम लगाउन सकेमा आफ्नै ठाउँमा रोजगारीका अवसर सिर्जना हुनुको साथै युवाहरुलाई विदेश पलायनबाट रोक्न सकिन्छ । यसर्थ यसतर्फ सरकार र राजनीतिक दलहरुले ध्यान दिन जरुरी छ । (लेखक पाल्पाको युनिक एफएमको प्राविधिक कक्षमा कार्यरत छन् ।)
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update