Shittalpati
तरकारी किन्न किसानकै बारीमा

रामपुर, लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएसँगै जिल्लाका गाउँ–गाउँमा कृषकको घर तथा खेतबारीमा तरकारी खरीद गर्न जाने क्रम बढ्दो छ । जसले गर्दा रामपुर नगरपालिका वडा नं ७ बहखोलाका सुकदेव न्यौपानेलाई तरकारी टिपेर बेच्न भ्याइनभ्याई भएको छ । बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि उनको घरमा तरकारी खरीद गर्न व्यापारी तथा ग्राहक पुग्ने गरेका छन् । रामपुरका बेझाड र किसानबारी बजारदेखि ग्राहक तथा व्यापारी घरमै पुगेर तरकारी खरीद गर्न थालेपछि व्यवसायीमा उत्साह बढेको न्यौपानेले बताए । ‘पहिला बजारमा लिएर जानुपथ्र्यो, अहिले घरमै आएर खरीद गरी लैजाने गरेका छन्, तरकारी बेच्न भ्याईनभ्याई छ’, उनले भने । कृषक न्यौपानेले करीब पाँच रोपनी जग्गामा काँक्रा, लौका, घिँरौला र करेला जातका तरकारी लगाएका छन् ।

उनी लकडाउन यता अहिलेसम्म खर्च कटाएर एक लाख ५० हजार बराबरको कृषिजन्य उत्पादन विक्री गरेको बताउँछन् । कोरोना भाइरस संक्रमणबाट जोगिन घरमा तरकारी लिन आउनेलाई दूरी कायम गरेर मात्र कृषकले विक्री गर्ने गरेका छन् । सोही ठाउँकै तुलसी न्यौपानेलाई पनि तरकारी लगाउन र बेच्न भ्याइनभ्याई छ । बिहानको समय तरकारी विक्री गर्ने तथा बाँकी समय बिरुवा लगाउने र गोडमेल गर्दैमा बित्ने गरेको उनले अनुभव सुनाईन । लकडाउनले आफूलाई कृषि कार्यमा व्यस्त बनाएको अर्का कृषक रामपुर ४ बस्ने दिलबहादुर थापाले बताए । ‘पहिला घरमा एकछिन काम सकाएर साथीभाइसँग गफ गर्ने, विभिन्न ठाउँमा घुमफिर गर्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले घरबाट बाहिर जान नभएपछि तरकारी लगाउने, टिप्ने बेच्ने कार्य भइरहेको छ ।’

थापाले करीब दश रोपनी जग्गामा करेला, घिरौँला, लौका र बोडी जातका तरकारी लगाएका छन् । उनले लकडाउनकै बेला एक लाख भन्दा बढीको तरकारी विक्री गरिसकेका छन् । जिल्लामा दुई हजार १ सय २६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिए पनि मदनपोखरा, हार्थोक, पोखराथोक र मुझु· क्षेत्र तरकारीको मुख्य क्षेत्र मानिन्छन् । लकडाउनका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । –रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update