Shittalpati
घट्दै कोदो खेती, मनाइँदै दिवस

पाल्पा, पोषणयुक्त र स्वस्थकर अन्नबालीका रुपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेका छन् । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले  बीउसम्म पाउन मुस्किल भएको छ ।

दश वर्षअघिसम्म पाल्पाको बगनासकाली खानीगाउँका कमल गैरेको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन् । उनले कोदो खेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको उनले बताए । “मेरो घरमा  काम गर्ने मान्छे छैनन् । भएका छोराहरू व्यापार र जागिरका लागि बजारमा छन् । हामी बुढाबुढीले कति पो काम गर्न सक्छौँ,” गैरेले भने, “कोदो लगाउने जग्गा बाँभैm पल्टिएको छ, त्यो देख्दा मन पोल्दो रहेछ ।” काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको उनको भनाइ छ । कोदो खेती सजिलो मानिन्छ । धेरै मलजल र गोडमेल गर्नु पर्दैन । तर पनि किसानको आकर्षण घट्दै जाँदा पछिल्लो समय गाउँमा कोदोको बीउ पाउनसमेत मुस्किल छ । रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन् । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन् । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा लगायत जिल्लाका अन्य किसानहरुको मुख्य बाली कोदो थियो । युवाहरु विदेश र शहरतिर, गाउँमा  बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको संख्या हरेक वर्ष घट्दो छ । अर्कोतर्फ यस्ता रैथाने बाली प्रवद्र्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आर्षकण हुन सकेको छैन् ।  स्थानीय, प्रदेश र संघीय सरकारले रैथाने बाली प्रवद्र्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सिमित हुँदा जिल्लामा कोदो खेती विस्तार हुन सकेको छैन् ।

मनाइँदै कोदो दिवस
पछिल्ला वर्षमा कोदो खेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइँदै छ । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको थियो ।  कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदो खेती घट्दै गएको छ । कृषि मन्त्रालयका अनुसार २०७८÷७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती भएको थियो । २०७९/८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । देशमा बर्सेनि करोडौंको कोदो आयात हुने गरेको छ ।

क्षेत्रफल घट्दै, उत्पादन बढ्दै    
 पाल्पामा पछिल्लो समय कोदो खेती गर्ने क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने केही बढेको देखिन्छ । यहाँ आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो  । जुन आर्थिक वर्ष २०८१/०८२ मा आएर २ हजार ३  सय ४९  हेक्टर क्षेत्रफलमा  झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए । उनका अनुसार कृषकहरु सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने  क्षेत्रफल घट्दै गएको हो । कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए । जिल्लामा आर्थिक वर्ष २०८० /०८१ मा तीन हजार एक सय एक दशमलव ४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा ०८१/०८२ मा आएर तीन हजार एक सय २४ दशमलव १७ मेट्रिक टन उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत  वर्ष ० दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए । उनका अनुसार अघिल्लो वर्ष एक दशमलव ३१ मेट्रिक टन प्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएको हो । विशेष गरी जिल्लाका निस्दी,पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट  गाउँपालिकाका विभिन्न ठाउँहरुमा कोदो खेती हुने गरेको प्राविधिक  पाण्डेयले बताए ।  
  

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update