पाल्पा, बाँझो जमिनलाई उत्पादनसँग जोड्न सके राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा ईन्दिरा कोइराला र छोरा खिमराज कोइरालाले दिएका छन् । वर्षौंदेखि प्रयोगविहीन रहेको चार रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरु गरेका उनीहरूले यस वर्षको तिहार तथा दीपावलीमा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् ।
खेतीयोग्य जमिन बाँझिँदै गएको र चाडपर्वमा फूल तथा मालाको माग बढ्दै गएको अवस्थामा कोइराला परिवारले सम्भावनाको नयाँ बाटो रोजेको हो । रैनादेवी छहरा गाउँपालिका–२ मा सञ्चालित धर्तीमाता कृषि फार्ममार्फत उनीहरूले टेनिस बल जातको फूल खेती गर्दै आएका छन् । विशेषगरी तिहार र दीपावलीलाई लक्षित गरी उत्पादन गरिएको फूल स्थानीय बजारदेखि छिमेकी जिल्लासम्म पुर्याउने उनीहरूको योजना छ । चाडपर्वमा फूल तथा मालाको माग बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर उत्पादन र बजारीकरणको योजना बनाइएको सञ्चालक खिमराज कोइरालाले बताए । पछिल्लो समय तिहारमा प्रयोग हुने प्लाष्टिकका कृत्रिम मालाको सट्टा स्थानीय उत्पादनबाट तयार गरिएका प्राकृतिक फूलका मालालाई प्रोत्साहन गर्ने अभियान सञ्चालन भइरहेको छ । विभिन्न स्थानीय सरकारले समेत व्यापारीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न निर्देशन दिँदै आएका छन् । यस्तो अवस्थामा स्थानीय स्तरमै फूल उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने सम्भावना देखेर आफूहरू फूल खेतीमा लागेको कोइरालाले बताए । चार रोपनी जमिनमा गरिएको फूल खेतीबाट स्थानीय बजारको माग पूरा गर्नुका साथै आसपासका जिल्लासम्म फूल तथा मालाको सेवा विस्तार गर्ने उनीहरूको योजना छ । तिहार तथा दीपावलीको समयमा ग्राहकको आवश्यकता र मागअनुसार थोक तथा फुट्कर फूल र माला बिक्री गरिने फूल खेती व्यवसायी ईन्दिरा कोइरालाले बताईन् । त्यस्तै, ग्राहकलाई सहज होस् भन्ने उद्देश्यले घरदैलोमै पुगेर फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको सञ्चालक कोइरालाले जानकारी दिए ।
सरकारी पेसासँगै कृषि उद्यम
खिमराज कोइराला बगनासकाली गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत रहेका छन् । कृषि क्षेत्रमै काम गर्ने क्रममा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै आएका उनले आफ्नो ज्ञान र अनुभवलाई व्यवहारमा उतार्ने उद्देश्यले फूल खेती सुरु गरेको बताए । कार्यालयको नियमित जिम्मेवारी पूरा गरेपछि बाँकी समयलाई सदुपयोग गर्दै उनले कृषि उद्यमलाई अगाडि बढाएका छन् । फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आएका छन् भने उनकी आम इन्दिरा कोइरालाले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएकी छन् । दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो । कृषि प्राविधिकको अनुभवलाई आफ्नै खेतबारीमा प्रयोग गर्दै कार्यालय समयबाहेकको समयलाई उत्पादनमूलक काममा लगाउन सकिने सन्देश खिमराजले दिएका छन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने व्यक्तिले पनि आफ्नो नियमित पेसालाई निरन्तरता दिँदै अतिरिक्त समयमा कृषि उद्यम गर्न सक्ने उनको अनुभवले देखाएको छ ।
बाँझो जमिनबाट आम्दानी र युवालाई उद्यमशीलताको सन्देश
गाउँघरमा धेरै जमिन प्रयोगविहीन अवस्थामा रहेका छन् । वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्ता जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको कोइराला बताउँछन् ।फूल खेतीको अर्को सकारात्मक पक्ष जंगली जनावरबाट हुने क्षतिको जोखिम तुलनात्मक रूपमा कम हुनु हो । बाँदर, बँदेललगायतका जंगली जनावरले अन्नबाली तथा तरकारी खेतीमा पु¥याउने क्षतिका कारण धेरै किसान खेतीबाट निरुत्साहित भइरहेका बेला फूल खेतीलाई वैकल्पिक कृषि व्यवसायका रूपमा विकास गर्न सकिने उनको बुझाइ रहेको छ । कृषि
व्यवसाय गर्न ठूलो लगानी, धेरै समय र प्रशस्त जमिन नै चाहिन्छ भन्ने सोच परिवर्तन गर्न आवश्यक रहेको कोइरालाको धारणा रहेको छ । उपलब्ध जमिन, स्थानीय बजारको माग र आफ्नो समयअनुसार उपयुक्त बाली छनोट गर्न सके कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनले बताए । बाँझो जमिनलाई सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ, जागिर वा अन्य पेसामा आबद्ध भएका व्यक्तिले पनि कार्यालय समयबाहेकको समयलाई सदुपयोग गरेर कृषि उद्यम गर्न सकिने खिमराजले बताए ।
युवाहरू विदेश जानुभन्दा आफ्नै गाउँ–ठाउँमा कृषि उद्यमी बनेर रोजगारी सिर्जना गर्न सकौं भन्ने मेरो मुख्य उद्देश्य रहेको कोइरालाले बताए । पाल्पादेखि बुटवल र अर्घाखाँचीसम्म फूलको माला
धर्तीमाता कृषि फार्मले उत्पादन गरेका फूल तथा मालाको बजारलाई पाल्पामा मात्र सीमित नराखी छिमेकी जिल्लासम्म सेवा दिने जनाएको छ । पाल्पाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली र तानसेन क्षेत्रका उपभोक्तालाई लक्षित गरी बिक्री वितरण गरिनेछ । उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म पनि फूल र मालाको सेवा उपलब्ध गराउन सकिने फूल व्यवसायी कोइरालाले बताए । चाडपर्वको समयमा फूलको माग बढ्ने भए पनि स्थानीय बजारमा आवश्यकताअनुसार फूल उपलब्ध नहुँदा बाहिरी क्षेत्रबाट समेत आयात गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा स्थानीय स्तरमै व्यावसायिक फूल खेती विस्तार गर्न सके किसानले आम्दानी गर्ने र उपभोक्ताले सहज रूपमा ताजा फूल प्राप्त गर्ने दुवै अवसर सिर्जना हुने देखिन्छ । प्राकृतिक फूलको प्रयोगले स्थानीय उत्पादनको प्रवद्र्धन हुनुका साथै प्लास्टिकका कृत्रिम मालाको प्रयोग घटाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारले प्लास्टिकका मालाको बिक्री नियन्त्रण र प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके स्थानीय फूल उत्पादक किसानका लागि बजारको अवसर थप विस्तार हुन सक्छ । कृषिलाई परम्परागत निर्वाहमुखी पेसाका रूपमा मात्र नभई सम्भावनायुक्त व्यवसायका रूपमा विकास गर्न सके गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश धर्तीमाता कृषि फार्मले दिएको छ । चार रोपनी जमिनमा सुरु गरिएको फूल खेती सफल हुँदै गएमा आगामी दिनमा यसको क्षेत्रफल र उत्पादन थप विस्तार गर्ने कोईरालाले बताए । सरकारले भारत लगायत छिमेकी मुलकबाट फूलको आयातमा कडाई गरेसंगै पाल्पाका अधिकाश स्थानीयतहमा फूल खेती विस्तार हुँदै गएको छ । पाल्पाको १० वटै स्थानीय सरकारले प्लाष्टिकका माला तथा फूल विक्रि वितरणमा रोक लगाएका छन् जसको कारण पनि फूल व्यबसायी कृषकहरु उत्साहित भएका छन् ।


