Shittalpati
रैनादेवी छहरा सरकारको निर्णय,बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने

पाल्पा, कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न हुन सक्ने संभावित खाद्य संकट रोक्न जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । विश्व स्वास्थ्य संगठनले गरेको खाद्य संकट हुनसक्ने आँकलनलाई मध्यनजर गरी उत्पादन बढाउन कृषकलाई गाउँपालिकाले अनुदान दिने निर्णय गरेको हो । गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमण थप फैलिन सक्ने र यसले खाद्य संकट समेत निम्तिन सक्ने भन्दै विगत दुई वर्षदेखि बाँझो रहेको जग्गामा खेतीपाती गर्ने कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाले बाँझो जग्गामा तरकारी तथा फलफुल खेती गर्नेलाई प्रतिरोपनी २ हजार, खाद्यान्न उत्पादन गर्नेलाई प्रतिरोपनी ३ हजार दिने निर्णय गरेको हो ।

हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै २ वर्ष देखि बाँझो रहेका खेतीयोग्य जमिन सदुपयोग गरी तरकारी,फलफूल र खाद्यान्न उत्पादन गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिइने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनले भने‘सम्भावित खाद्य संकटलाई मध्यनजर गर्दै किसानलाई खेती गर्नका लागि प्रोत्साहन गर्न बाँझो जमिनको उपयोग गर्नेलाई प्रति रोपनी २ हजार देखि ३ हजारसम्म अनुदान दिने निर्णय गरेका छौँ ।’ अनुदान लिने प्रयोजनका लागि मात्र बाँझो जग्गा उपयोग गर्ने कृषकका हकमा भने गाउँपालिकाले गाउँसभाले तोकेबोमोजिम प्रति रोपनी बराबर वार्षिक ५० रुपैयाँका दरले भूमिकर लिने जनाएको छ ।

आर्थिक संकट टार्न कृषि नै उपयुक्त भएकाले तरकारी, फलफूल तथा खाद्यान्नमा अनुदान दिन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए । खत्रीले भने ‘एक तर्फ गाउँपालिका भित्रको खेतीयोग्य जमिन बाँझो रहने र अर्को तर्फ खाद्यान्न संकट आउन सक्ने सम्भावना भएकाले समयमै समस्या समाधानका लागि गाउँपालिकाले यस्तो निर्णय लिएको हो ।’ गाउँपालिकाले राहत वितरणका क्रममा छुटेका नागरिकहरुका लागि तथ्याङ्क संकलन गरी राहत वितरण गर्ने, गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने नागरिकहरुका लागि दैनिक चार सय बराबरको खाना र खाजाको व्यवस्था गर्ने,कोरोना रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वमसेवक परिचालन गर्ने लगायतका निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत खत्रीले शित्तलपाटी डटकमलाई जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update