Shittalpati
लकडाउनको मारमा कुखुरापालक कृषक,  ‘भन्छन् व्यवसाय निल्नु न ओकल्नु जस्तै भो’

रामचन्द्र रायमाझी
पाल्पा, चार हप्तादेखिको लकडाउनका कारण कुखुरापालक कृषक सबैभन्दा बढी मारमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका कुखुरापालक कृषक मारमा परेका हुन् । लामो समयको लकडाउनका कारण कुखुरा र अण्डाको विक्रीमा समस्या भएपछि कुखुरा पालक कृषकहरु यतिबेला चिन्तित बनेका छन् । घरखेत धितो राखी ऋण निकालेर कुखुरापालन व्यवसायमा लागेका जिल्लाका कृषकहरु दाना नपाईनु र भएका कुखुराहरु समेत विक्री नहुँदा चिन्तित बनेका हुन् । कुखुरा पालेरै मनन्य आम्दानी गर्ने सपना बुनेका पुर्वखोला गाउँपालिकाका सन्तोष थापालाई अहिले व्यवसाय निल्नु न ओकल्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर कुखुरा व्यवसायीमा लागेका थापालाई उत्पादन गरिएका कुखुरा बजारमा पठाउन नपाउदा व्यवसाय अहिले निल्नु न ओकल्नु जस्तै भएको हो । दश लाख लगानीमा व्यवसायी सञ्चालन गरेका उनको साना ठूला गरी एक हजारभन्दा बढी कुखुरा रहेका छन् । बजारमा दाना अभावसँगै कुखुरा नबिकेपछि थापा अहिले निरास छन् ।

फर्ममा एक अर्ब भन्दा बढी लगानी गरिसकेका उनले लकडाउनका कारण बजार पूरै ठप्प भएकाले उत्पादन भएका कुखुराहरु विक्री नभएको बताउँछन् । थापा भन्छन् ‘बजार ठप्प छ, ४५ दिनपछि दानापानी खुवाएर पाल्नु भनेको घाटा सहनु हो, त्यसैले घाटा सहने की व्यवसाय नै बन्द गर्ने दुविदामा छु ।’ विक्री हुने आशामा किसानले ६५ दिनसम्म कुखुरा पाल्ने गरेका छन् । तर दाना अभाव भएपछि कृषकहरु समस्यामा छन् । ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेपनि लकडाउनले गर्दा लगानी समेत डुब्ने अवस्था आएको रिब्दीकोटका कृषक सुजन नेपालको दुखेसो छ । कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था नुहँदा आफु जस्तै कुखुरापालक कृषक समस्यामा परेको उनी बताउँछन् । नेपाल भन्छन् ‘मनग्य आम्दानी गर्ने सपना बुनेर उत्साहका साथ कुखुरापालन गरें तर लामो समय सम्मको लकडाउनले सबै चल्ला बर्वाद भए, अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउनै समस्या छ ।’

दाना र बजारको समस्याका कारण कुखुरा ठूला हँुदै गएपछि नोक्सान बेहोर्नु परेको रामपुरका अर्को कृषक बुद्धिबहादुर कार्की बताउँछन् । जिल्लामा लाखौंको लगानीमा सञ्चालित फर्महरुमा विगत चार साता यता लकडाउनका कारण दाना नआए पछि कुखुरा व्यवसायी मारमा परेका छन् । दाना नै नपाएपछि केही कृषकहरुले कुखुरा तथा चल्लाहरुलाई खाल्डो खनेर मार्ने गरेका छन् । उनीहरुले दाना नभएपछि त्यत्तिकै पालेर राख्दा घाटा हुने भन्दै मार्ने गरेका हुन् । मासुका लागि बोआइलर जातका कुखुरा जिल्लाको प्रायः सबै बस्तीहरुमा पालिने गरेको छ । कुखुरा तयार भएपनि यातायातका साधन नचल्नु, होटल सबै बन्द हुनु, शहरका मानिसहरु गाउँ फर्कनु, मासु पसलहरु बन्द रहनुले उत्पादित कुखुरा बजार पठाउन नसक्दा नोक्सानी बेहोर्नु परेको कृषकहरु बताउछन् । लकडाउनका कारण जिल्लामा सबैभन्दा बढी नोक्सानी व्यवसायिक कुखुरा पालक कृषकहरुले बेहोर्नु परेको पशु चिकित्सक डा.चन्द्र रानाले बताए । कोरोना भाइरसको त्रासका कारण कुखुराको मासु खाने उपभोक्ताहरु घटेकाले पनि कुखुरापालक कृषकहरु बढी मारमा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update