Shittalpati
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’

लुम्बिनी, नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको शुक्रबारदेखि सुरु २२ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सम्वद्ध निकायको कमजोरीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । उनले कमजोरी सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको जनाउँदै ती योजनाको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे । उनले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल पनि सञ्चालन आउने बताए । पौडेलले सम्पन्न भएका सबै आयोजनालाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

पौडेलले लुम्बिनी प्रदेशको राजधानीको विषयलाई अब छलफलको विषय नबनाउन आग्रह गरे । राजधानीकै कारण रुपन्देही पछि नपर्ने उल्लेख गर्दै उनले बरु यहाँका उद्योगी व्यवसायीले अब कसरी अघि बढ्ने भनि बहस चलाउन आग्रह गरे । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक संकट तथा चर्को ब्याजदर र घरबहाल करका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए । अहिलेकै अवस्था लामो समय कायम रहे ७० प्रतिशत बढी होटल व्यवसायी विस्थापित हुने उनको भनाइ थियो । यसैगरी घरबहाल समस्याले पनि व्यवसायी पीडित हुनुपरेको उनले गुनासो गरे । उनले पर्यटनको क्षेत्रमा राज्यले थप सुधार र व्यवसायीमैत्री नीति बनाउनुपर्नेमा जोड दिए । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष हीराध्वज शाह, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले, होटल व्यवसायीको संस्था हानका केन्द्रीय सदस्य गोपाल राना लगायतले व्यवसायीले आर्थिक संकट तथा बैंकको चर्को ब्याजदरजस्ता समस्या भोग्नुपरेको गुनासो गरे । –रासस

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update