Shittalpati
आजदेखि निर्वाचन आचारसंहिता लागू

पाल्पा, प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने भएको हो ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको छ । यी जिल्लामा कानुनले तोकेबमोजिमका व्यक्ति र निकायहरूलाई आचारसंहिता लागू हुनेछ । संघीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेशका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

यस्तै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी लगायतले आचारसंहिताको पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, र वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई समेत आचारसंहिता लाग्ने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update