Shittalpati
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला

पाल्पा, जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।

बुधबार जिल्लाको बगनासकाली गाउँपालिका –३ पाखण्डकीमा बेवारिसे शव फेला परेको छ । स्थानीयले सर्वजित थापाको बारीमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी आर्यभञ्ज्याङ्ग र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुरुष व्यक्तिको शव सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको जनाइएको छ । उक्त शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै,जिल्लाको रिब्दीकोट गाउँपालिका–१ सातमुरेस्थित रिडीखोलाको पानीमा एक बेवारिसे शव फेला परेको छ । खोलाको बिच भागमा पानीमा डुवेको अवस्थामा नाम थर नखुलेको व्यक्तिको शव फेला परेको हो । स्थानीयले मानिस मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरीचौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगी शव बाहिर निकालेका थिए । शव खोलाको बिचमा बाँया खुट्टा पानी बाहिर र शरीरको अन्य भाग पानीमा डुवेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update