
पाल्पा, रुपन्देही, नवलपुर र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देही र रोल्पामा एक/एक जनाको शव फेला परेको छ भने नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।
रुपन्देहीमा तीन दिनदेखि हराइरहेका एक पुरुषको शव भेटिएको छ । जिल्लाको तिलोत्तमा–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डनको सोमबार शव भेटिएको हो । टण्डन बुटवल उपमहानगरपालिका वडा नम्बर–११ स्थित हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खडलमा मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए । स्थानीयले हाइटेन्सन पोलमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाका कारण भएको बताए । “हामीले त्यस क्षेत्रको सिसिटिभी क्यामेराको रेकर्ड हेर्दा उनको दुर्घटना भएको देखियो, थप अनुसन्धान भइरहेको छ”, उनले भने । रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल कुदाउँदा टण्डनको खाडलमा परेर ज्यान गएको प्रहरीले जनाएको छ ।
टण्डनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । टण्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । यस्तै नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र वडा नम्बर ४ धर्म चोक बस्ने १६ वर्षका शिशिर पन्त रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । यस्तै रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालककोे घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाँउपालिका ३ बागमारा बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा घोराही उपमहानगरपालिका ४ कुइरेपानीका २७ वर्षका ट्याक्टरका चालक खिमबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईखोलीबाट बालुवा लिएर परिवर्तन गाँउपालिका ४ भेरिखर्क तर्फ जाँदै गरेको लु. प. ०२०० त. ००८९ नम्बरको ट्याक्टर बागमारा बजार नजिकै दुर्घटना भएको हो । ट्याक्टरमा चालक मात्रै रहेका थिए । ट्याक्टर दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।