Shittalpati
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो

तम्घास, गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलो पटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा २ ह्वाङदी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीन वटै वडामा पहिलो पटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । साथै स्थानीयवासीले बाजागाजा सहित बसलाई स्वागत गरेका थिए ।

पूर्वमन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले बसको उद्घाटन गरेका छन् । दर्लिङ–३ का ६८ वर्षीय पतिराम खड्कालाई आफ्नै घर अगाडि बस देख्न पाइन्छ भन्ने कल्पनासम्म थिएन । बुटबल, पाल्पा, तम्घास लगायतका ठाउँबाट हिँडेरै नुन, तेल लगायतका सामग्री बोकेका उनले बिहीबार आफ्नै गाउँमा बस देखे । ‘गाउँमा बस त के, बाटोसम्म हुन्छ भन्ने पनि सोचेका थिएनौँ’, खड्काले भने, ‘आज बस नै आउँदा सपनाजस्तो लागेको छ ।’ गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घास वा आवश्यक गन्तव्यमा पुग्ने गरेको उनले सम्झिए । दर्लिङमा १५ वर्षअघि खनेको सडकमा सुरुमा ट्याक्टरमात्रै गुड्थे । त्यसपछि जीप सञ्चालन हुन थाल्यो र अहिले बस नै गाउँमा पुग्दा आफू खुसी भएको उनले बताए ।

सोही स्थानकै ७१ वर्षीय नर्मती घर्तीले पनि गाउँमा बस पुग्दा खुसी लागेको बताइन् । बस आएसँगै जीपको भन्दा भाडा पनि सस्तो हुने उनले अपेक्षा गरिन् । ‘गाउँमा आएपनि घरमै आएजस्तै लागेको छ, जीपमा हिँड्दा दुई हजार रुपैयाँसम्म खर्च हुन्थ्यो’, उनले भनिन् ‘बसमा अब भाडा पनि सस्तो होला ।’ आफू बस हेर्नकै लागि कार्यक्रमस्थलमा आएको उनले सुनाइन् ।

नियमित सञ्चालन गर्न चुनौती :

बसले मुख्यतः गाउँपालिकाको वडा १ नेटा, वडा २ Þवाङ्दी र वडा ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । सदरमुकाम तम्घासबाट दर्लिङसम्म ४५ किलोमिटर दूरी पर्छ । हिउँदको समयमा सडक राम्रै हुने भएपनि वर्षायाममा भने सञ्चालन गर्न चुनौती छ । वर्षायाममा अधिकांश ठाउँमा पहिरो जाने भएकाले नियमित बस सेवा सञ्चालन हुनेमा स्थानीयले शड्ढा गरेका छन् । ‘जीप पनि बाह्रै महिना सञ्चालन भएको छैन, सडकले साह्रै दुःख दिएको छ’, स्थानीय ४८ वर्षीय चन्द्रवती घर्तीले भनिन्, ‘सडकको नियमितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्छ ।’ सडक बिग्रिएको अवस्थामा जीपमा पनि मह·ो भाडा तिर्नुपरेको उनले सुनाइन् ।

लेन्थवर्करको व्यवस्था :

गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले गाउँपालिकाका अन्य पाँच वडामा पहिले नै बस पुगेको बताए । बस सेवालाई दर्लिङबाट बुटबलसम्म आवत–जावत गर्ने गरी तयारी गरिएको उनले बताए । त्यसका साथै पालिकामा उत्पादन भएका कृषिजन्य सामग्रीको निर्यात हुने तथा नागरिक सस्तो भाडामा गन्तव्यमा पुग्ने उनले बताए । नियमित सडक सञ्चालनका लागि गाउँपालिकाले डोजर र लेन्थवर्करको व्यवस्था गरेको उनको भनाइ छ ।  –रासस

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update