Shittalpati
पाल्पाको तिनाउमा ट्रक दुर्घटना, तीन घाइते

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना भएको छ । बुधबार दिउँसो पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४४९९ नम्वरको खाली ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक सहित ट्रकमा सवार तीन जना घाइते भएका छन् । चालक सुनवल नगरपालिका –९ नवलपरासीका ४३ वर्षीय मोहन भट्टराई, ट्रकमा सवार बुटवल उपमहानगरपालिका १३ का ३० वर्षीय धिरज शाहा र प्रतापपुर गाउँपालिका –९ नवलपरासीका ३८ वर्षीय रामराज च्यामर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शाहा र च्यामरको अवस्था गम्भीर रहेको छ । घाइते तीनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update