Shittalpati
पाल्पाको तिनाउमा पहिरोले घर पुरिदा एकको मृत्यु, एक वेपत्ता

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा गएराती देखी परेको अविरल बर्षाका कारण पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । पहिरोमा परी ६ जना घाईते छन् । तिनाउँ गाउँपालिका – ५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ । पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

पहिरोले घर बगाउँदा सोही ठाउँका रमेश परियारको ४ बर्षीय छोरा आरोप परियार वेपत्ता भएका छन् । तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले पुरिएको हो ।

पहिरोले स्थानीय २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य नै रहेको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा पर्याप्त जनशक्ति घटनास्थलमा पुग्न कठिन भएको डिएसी त्वातीले बताए ।
पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड समेत बन्द भएको छ । सिद्धबावा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update