Shittalpati
६ महिनापछि आन्तरिक उडान सञ्चालनमा

पाल्पा । गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । छ महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सञ्चालनमा आएको हो । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झण्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको छ । लकडाउका बेला त्रिभुवन विमानस्थलबाट नियमित फ्लाइट बन्द गरेर केही चार्टर्ड फ्लाइटमात्र सञ्चालन गरिएको थियो । विमानस्थल सेवा सञ्चालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ ।

सोमबार देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update