Shittalpati
मौद्रिक नीतिको  त्रैमासिक समीक्षा गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी थालेको छ । आर्थिक वर्षको सुरु भएको साढे ४ महिना पुग्न लाग्दा राष्ट्र बैंकले त्रैमासिक समीक्षाका लागि आन्तरिक गृहकार्य थालेको हो । राष्ट्र बैंकले प्रत्येक ३/३ महिनाको मौद्रिक तथा आर्थिक अवस्था एवं मौद्रिक नीतिको कार्यान्वयनको अवस्थालाई हेरेर मौद्रिक नीतिको समीक्षा गर्ने गर्छ । यसपटकको त्रैमासिक समीक्षा भने कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित भएर गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोभिड–१९ को विशेष परिस्थितिमा कात्तिकसम्मको अवस्थालाई हेरेर समीक्षा गर्न लागेको बताए । उनले कात्तिक मसान्तसम्मको तथ्यांक संकलन गरिरहेको भन्दै सबै तथ्यांक प्राप्त भएपछि त्यसका आधारमा समीक्षा गरिने बताए । ‘धेरैजसो तथ्यांक प्राप्त भइसक्यो, केही आउन बाँकी छ । सबै तथ्यांक आएपछि त्यसका आधारमा समीक्षा गर्छौं, सरोकारवाला पक्षहरुसँग छलफल चाहिँ भइरहेकै छ,’ प्रवक्ता भट्टले भने ।

उनले त्रैमासिक समीक्षामा ठूलो परिवर्तन हुने अभ्यास नभएको भन्दै मौद्रिक नीतिमा भएका सामान्य प्राविधिक त्रुटिहरुलाई मात्रै यो समीक्षाले सच्याउने सम्भावना रहेको बताए । ‘त्रैमासिक समीक्षामा धेरै ठूलो नीतिगत परिवर्तन गर्ने अभ्यास छैन, तत्कालै गर्नुपर्ने खालका संशोधनहरुलाई मिलाउने मात्रै हो । विभिन्न क्षेत्रबाट प्राप्त भएका सुझावका आधारमा हामी अघि बढ्छौं’ भट्टले भने, ‘सबै मिलाएर यही साताको अन्त्यसम्म र ढिलोमा अर्को सातासम्ममा समीक्षा सार्वजनिक हुन्छ ।’ राष्ट्र बैंकले ठूलो परिवर्तन हुँदैन भनिरहँदा बैंकहरुले भने मौद्रिक नीतिको यो समीक्षाबाट ठूलो अपेक्षा गरेका छन् । कोभिड–१९ को कारणबाट बैंकिङ क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्ने, बजारमा विद्यमान अधिक तरलताको अवस्था कम गर्न राष्ट्र बैंकले पहलकदमी लिने तथा मौद्रिक नीतिमा आएका विभेदकारी नीतिमा सुधार हुने अपेक्षा उनीहरुले गरेका छन् । बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहाल समीक्षामार्फत् राष्ट्र बैंकले बैंकहरुको धेरै समस्यालाई सम्बोधन गरिदिनेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update