Shittalpati
बिर्सिंदै ‘लुतो फाल्ने’ संस्कृति, छैन नयाँ पुस्तामा चासो

रामचन्द्र रायमाझी
पाल्पा, ‘‘मेरो लुतो लैजा’ भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना गुल्मी इस्माका ९८ वर्षीय देवबहादुर पाण्डेलाई अहिले पनि ताजै छ । लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको अगुल्टो फाल्दै पल्लो गाउँकाहरुलाई मेरो लुतो लैजा भन्दै, चिच्याइन्थ्यो’, उनले भने, ‘अचेल त्यसको महत्व नै थाहा छैन ।’ आइतबार साउने संक्रान्तिको साँझ पहिले जस्तै आफुले लुतो फाले पनि नयाँ पुस्ताले भने नफालेको पाण्डेको भनाई छ । पहिले– पहिले सबै घर घरमा रमाइलो गर्दै लुतो फालिन्थ्यो तर अहिले गाउँमा कोही कसैले नफाल्दा नरमालो लाग्ने गरेको उनको गुनासो छ ।

पाल्पाको माथागढी देउगीरका लोकबहादुर रायमाझीलाई पनि विगतमा आगाको अगुल्टो फाल्दै लुतो फाल्ने गरेको झलझली याद आउँछ । ‘५ वर्ष भयो लुतो फाल्न छोडेको पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो’ रायमाझीले भने । छोरा, नातीहरुले वास्ता नगर्ने र आफुलाई उमेरले पनि साथ नदिएपछि लुतो फाल्न छोडेको उनको भनाई छ । अहिले लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि पछिल्लो समय विस्तारै कम हुँदै गएको छ । नयाँ पुस्ताले त्यसतर्फ खासै चासो नदेखाउँदा यो संस्कृतिमा कमी आएको हो । परम्परा अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

पाल्पा र गुल्मीका केही ग्रामीण भेगमा अहिले पनि यो पर्व कायम रहे पनि सहरी क्षेत्रमा भने यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आएपनि विस्तारै त्यसक्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, दमाहा बजाउने र एकछिन घरको ढोका बन्द गर्ने चलन बिस्तारै हराउँदै गएको छ । हरेक वर्ष साउन महिनाको पहिलो दिनलाई लुतो फाल्ने दिनका रुपमा लिने गरिन्छ । यसदिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । साँझमा कुकुर डाइनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर ताप्ने र धँयरीको जलेको अगुल्ठो घरको आँगनबाट चारै दिशामा लुतो लैजा भन्दै फ्याँक्ने चलन छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update