Shittalpati
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प

पाल्पा, नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा  एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन् ।  आगामी फागुन २१ गते हुने निर्वाचनको सिलसिलामा रम्भाको साठी बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार रानाले यसपटक जनताले नेपाली काँग्रेसलाई १० हजारभन्दा बढी मतान्तरले विजयी गराउने दावी गरे । ३७ वटा वडामा घरदैलो सम्पन्न गरिसकेका रानाले सोही अवसरमा आफ्नो विस्तृत संकल्प र प्रतिज्ञापत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।

रानाले पाल्पा क्षेत्र नं. १ को पौराणिक महत्वको कालीगण्डकी उपत्यका क्षेत्रलाई वैदिक स्मार्ट सिटी बनाउँदै धार्मिक पर्यटनको केन्द्र बनाउने, दर्छा, सिलुवा, पिलुवा, सहलकोट, सुकेकोट, विरकोट, मोहरिया, बाकुमगढी र माथागढी जस्ता स्थलहरूलाई ऐतिहासिक गौरव पर्यटन क्षेत्रको रूपमा प्रवद्र्धन गरिने र  निस्दी, पूर्वखोला, रम्भा र माथागढीलाई सांस्कृतिक पर्यटकीय केन्द्र बनाइने संकल्प प्रस्तावमा उल्लेख गरेका छन् ।

रानाले सीताकुण्ड, रामघाट, रामचुलो, टापुधाम, रम्भादेवी, सिद्धबाबा, सत्यवती मन्दिर, मित्याल, रिमिघा लेक, काउलेडाँडा र रानीवास लगायतका दर्जनौँ धार्मिक तथा प्राकृतिक स्थलहरूलाई आधुनिक पर्यटनमैत्री पूर्वधारको विकास गर्ने प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् ।

आर्यभञ्ज्याङ–हुमिन–ताँहु–विरकोट–जक्कादी–सिलुवा–वेलडाँडा हुँदै रामपुरसम्मको सडकलाई कालोपत्रे गर्ने, सांस्कृतिक पर्यटन रिङरोड बाँसटारी–कसेनी–रूप्से–देउगिर–रहवास–बहादुरपुर–जल्पा–साठिकोल–पूर्वखोला–ज्यामिरे–मित्याल–मोहरिया हुँदै कालीगण्डकी करिडोर जोड्ने सडक, दुर्तमार्ग तराई र पहाड जोड्ने गरी अरुणखोला–जलुके–मित्याल–बेलडाँडा खण्डलाई स्तरवृद्धि गर्ने, गौरव पदयात्रा केलादीदेखि रूपन्देहीको जितगढीसम्म ऐतिहासिक पैदल मार्ग निर्माण गर्ने संकल्पपत्रका उम्मेदवार रानाले उल्लेख गरेका छन् ।

कृषि उत्पादन बढाउन रामपुरफाँट सिँचाइ नहर, हुँगी असेंदीको आँधिखोला जलविद्युत आयोजनाको सिँचाइ स्तरउन्नति, गल्धाफाँट, भडेवा र निस्दी धिर्जे लगायतका क्षेत्रमा सिँचाइ आयोजनाहरू तत्काल अगाडि बढाउने उम्मेदवार रानाले  प्रतिवद्धता गरेका छन् ।  आगामी ३ वर्षभित्र क्षेत्रका सबै बस्तीमा अनिवार्य केन्द्रीय प्रसारण लाइन पु‍¥याई उज्यालो पाल्पा बनाउने रहेको छ । उम्मेदवार रानाले शिक्षा क्षेत्रलाई गुणस्तरीय र रोजगारमूलक बनाउन माटो सुहाउँदो संस्कार सहितको शिक्षाको नीति अघि  सारेका छन् ।  कक्षा १२ सम्मको अध्ययनलाई पूर्ण रूपमा निःशुल्क बनाउन नीतिगत पहल गर्ने,छोरीहरूलाई प्रोत्साहन गर्न  पाल्पाा क्षेत्र नं. १ का छात्राहरुलाई निःशुल्क रुपमा   पिएचडी सम्मको अध्ययनको व्यवस्था मिलाउने, कालीगण्डकी क्षेत्रमा डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको आई टि कलेज स्थापना गर्ने, सीपमूलक र संस्कारयुक्त पाठ्यक्रममा जोड दिने  संकल्प पत्रमा उम्मेदवार रानाले उल्लेख गरेका छन् ।

रामपुर अस्पतालमा आकस्मिक सेवाका लागि ट्रमा सेन्टर र आगलागी जस्ता दुर्घटनाका लागि जलन उपचार केन्द्र स्थापना गर्ने, रामपुर आयुर्वेद औषधालयलाई व्यवस्थित बनाउने, सबै पालिकामा रहेका आधारभूत स्वास्थ्य संस्थाहरूलाई आधुनिक उपकरणसहितको गुणस्तरीय केन्द्रमा रूपान्तरण गर्ने उम्मेदवार रानाले जोड दिए । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिने बताउँदै उम्मेदवार रानाले युवाहरूका लागि १५ लाखसम्मको विनाधितो स्टार्ट अपु कर्जा र वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि स्वदेशमै सिप अनुसारको कामको ग्यारेन्टी गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरू अघि सारेका छन् ।  उनले संसद् र नागरिकबीच सिधा संवादका लागि प्रत्येक पालिकामा नागरिक संसद संवाद केन्द्र्र स्थापना गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारी, रम्भा गाउँपालिकाका पार्टी सभापती ऋषिराम अर्याल, क्षेत्रिय सभापति झमन राजमगरले पाल्पाा क्षेत्र नं. १ मा नेपाली काँग्रेसको जित सुनिश्चित भईसकेको दावी गरे । नेपाली काँग्रेस पाल्पा क्षेत्र न.ंं १  निर्वाचन प्रचार–प्रसार समितिका सदस्य ओम प्रकाश बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update