दिएको मत बदर हुनुु र मतदानमा नै नजानु एउटै कुरा हो । घन्टौं लाइनमा लामबद्ध भएर टन्टलापुर घाम सहँदै पालो पर्खेर लगाइएको स्वस्तिक छाप नै गलत भएपछि यसअघि गरिएका मिहिनेत स्वतः खेर जान्छन् नै । यसकारण मत बदर नहुने तबरले मतदान गर्नु हरेक सचेत मतदाताको कर्तव्य हो । स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नागरिकको अधिकार हो । जति सक्दो धेरै मत खस्नु नागरिकले मतधिकार प्रयोग गर्नु हो, भने राजनीति दल र उम्मेदवारका लागि यो उपलब्धिमूलक हो । तर मत खस्नुलाई मात्र उपलब्धीमूलक मान्न सकिदैन । खसेको सबै मत सदर हुन्छ भन्ने छैन । केही मत बदर हुन जान्छ । त्यो बदर मतको कुनै अर्थ छैन । बरु मत बदर हुन नदिने विषयमा ध्यान दिनु महत्वपूर्ण हुन सक्छ । विगतका निर्वाचनमा धेरै मत बदर भएका थिए । यस पटक पनि सोही समस्याले निरन्तरता पाएको छ ।
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बदर मतको प्रतिशत उल्लेख्य देखिएको छ । विशेषगरी देशभरबाट प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) ५ प्रतिशतभन्दा बढी र समानुपातिकतर्फ करिब ३ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा पनि प्रत्यक्ष र समानुपातिक बदर मत आठ हजार पाँच सय ४१ रहेको छ । यहाँँ पनि हरेक वर्ष बढ्दै गएको छ ।
निर्वाचनमा बदर मतको दर निरन्तर उच्च हुनु गम्भीर समस्या हो, जसले लोकतन्त्रको जग कमजोर बनाउने खतरा बढाएको छ । मतदाता शिक्षा, मतपत्रको जटिलता, राजनीतिक दलको भूमिका र सरकारी तयारीको कमजोरी बदर मत बढ्नुका मुख्य कारण हुन् । बदर मत घटाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मिडिया र स्वयं मतदाताले प्रभावकारी भूमिका खेल्न आवश्यक छ । लोकतन्त्रको सुन्दर, प्रतीक्षित र निर्णायक क्षण हो– निर्वाचन । एक÷एक मतको उत्तिकै महत्व हुने मतदानमा बदर मतको दर उच्च हुनु नेपालका निर्वाचनमा निरन्तर दोहोरिने गम्भीर समस्या हो । नेपालको सन्दर्भमा मत बदरको समस्या ‘प्राविधिक वा संख्यात्मक मात्रै हो’ भनेर सोच्नु अपर्याप्त हुन्छ । यसले मतदाता जागरणको कमी वा अभाव, निर्वाचन प्रक्रियाको जटिलता, निर्वाचन आयोगदेखि राजनीतिक दल र नेपाल सरकारसम्मको संस्थागत तयारीको कमी, राजनीतिक वातावरणको प्रभाव र नागरिक वा मतदाता शिक्षाको कमजोरी उजागर गर्छ । यसर्थ आगामी दिनमा हुने निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा नीति प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।

