पाल्पा, दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छन् । जारी पछिल्लो मत परिणाम अनुसार यहाँको क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना र नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यबिच निकै कडा प्रतिस्पर्धा भएको छ । काँग्रेसका रानाले १५ हजार ६ सय २९ मतसहित अग्रस्थानमा छन् भने एमालेका आचार्यले १४ हजार ७ सय ८६ मतसहित पछ्याइरहेका छन् । यस अघि एमालेका आचार्य अग्रस्थानमा थिए । पछिल्लो मत परिणाम अनुसार काँग्रेसका रानाले उनलाई पछि पारेका छन् । यस्तै रास्वपाका विमल पन्तले भने १२ हजार २ सय ६७ मत लिएर तेस्रो स्थानमा छन् । अहिले रामपुरका बाँकी वडाहरुको मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै क्षेत्र नम्बर– २ मा रास्वपाका उम्मेदवार माधवबहादुर थापाको अग्रता कायमै छ । सुरुवातमा काँग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठको अग्रता देखिएकोमा अहिले रास्वपाका थापाको अग्रता देखिएको हो । रास्वपा उम्मेदवार थापाले १५ हजार ९ सय ५२ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । निकटतम प्रतिस्पर्धी उम्मेदवार नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठले ८ हजार ६२ मतसहित पछ्याईरहेका छन् । त्यस्तै नेकपा एमालेका ठाकुर गैरेले ७ हजार ३ सय ५४ मतसहित तेस्रो स्थानमा छन् । नेकपाका सोमप्रसाद पाण्डेयले भने ३ हजार ९ सय ८८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।


