पाल्पा, जिल्लाको सदरमुकाम तानसेनस्थित अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन रनि· शिल्ड प्रतियोगिता भएको छ । नारायण यूवा क्लवले हरेक वर्ष जस्तै यस वर्ष पनि तानसेन नगरपालिकाका सबै वडालाई समेटेर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा तानसेन नगरपालिका वडा नं. २ का महेशमान बज्राचार्य र एबिन श्रेष्ठको समूह प्रथम भएको छ । वडा नं. ४ का कमल पल्ली र बृजेश सारुको समूह द्धितिय र वडा नं. ७ र ३ को समूह तृतिय भएको क्लवले जनाएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्वास्थ्य र राष्ट्रका लागि खेल महत्वपूर्ण रहेको बताए । उनले क्लवले गरेका हरेक कार्यहरु प्रशंसा गर्न लायक रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह । नगर प्रमुख श्रेष्ठले खेल क्षेत्रको विकासका लागि नगर सरकारले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यसमा क्लवले सक्रियता देखाएकोमा खुसी व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले सेलाउदै गएको तानसेनको खेल क्षेत्रको गतिविधिलाई आफुहरु निर्वाचित भएर आइसकेपछि चलायमान बनाइएको दावी गरे । क्लवका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले २०५४ सालमा फुटवल खेल्नका लागि शुरु गरेको यूवाको जमात आज जिल्लाभर नै आफ्नो नाम राख्नका लागि सफल भएको बताए । प्रतियोगिताले अब्बल खेलाडी उत्पादनसँगै जिल्लाको खेलकूद विकासमा महत्वपूर्ण टेवा पुग्नेमा उनले जोड दिए । सभापति श्रेष्ठले समाजमा अहिले केही भएन, केही भएन भन्ने भाष्य निर्माण भइरहेकाले त्यसलाई चिर्न सबैले सकारात्मक सोंच राखेर अगाडि बढ्न आवश्यक रहेको औल्याए । उनले भने “यहाँ खेल, पर्यटन र कृषिको प्रचुर सम्भावना छ, यी कुराहरुको सही उपयोग गर्न सकियो भने स्वदेशमै प्रसस्त आम्दानी गर्न सकिन्छ ।” सभापति श्रेष्ठले अब यो देश बनाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएकाले सबै सकारात्मक सोंचका साथ एकताबद्व भएर लाग्नुपर्ने बेला आएको धारणा व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र पञ्जीयार थारु, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य राजु मर्हजन, अमरनारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेल, वडा नं. २ का अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ लगाएतले आ–आफ्ना धारणा राखेका थिए । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन अमरनारायण कर्भडहलका अध्यक्ष एवं क्लवका पूर्व अध्यक्ष किशोर दर्शन बज्राचार्यले गरेका थिए । क्लवका अध्यक्ष विनायक मर्हजनको अध्यक्षता, उपाध्यक्ष सुनिल बुद्धाचार्यको स्वागत, सह–सचिव विनोद भारतीको सञ्चालनमा प्रतियोगिता भएको थियो ।


