पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले निर्वाचनमा पराजित भए पनि शुभेच्छुक र मतदातालाई भने धन्यवाद दिएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता माधव बहादुर थापासँग पराजित भएका थिए । थापा विजयी भए लगत्तै निकटतम प्रतिस्पर्धी श्रेष्ठले विजयी थापालाई खाता, अविर लगाइदिर्दै बधाई दिए, सफल कार्यकालको कामना समेत गरे । त्यति मात्र होइन उनले शुभेच्छुक र मतदाताहरुप्रति हार्दिक आभार एंव धन्यवाद समेत व्यक्त गरेका छन् । यसलाई धेरैले राजनीतिक संस्कार सुरुआतका रुपमा पनि व्याख्या गरेका छन् ।
काँग्रेस उम्मेदवार श्रेष्ठले सोमबार पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन अमूल्य मत प्रदान गर्नुहुने, अहोरात्र खटिनुहुने तथा समर्थन र शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण मतदाता, पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गरे । उनले निर्वाचनलाई भय रहित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सफल नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, सञ्चार माध्यम तथा सम्बन्धित सम्पुर्ण निकायप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरे । श्रेष्ठले आफु पराजित भए पनि जनताको सेवामा निरन्तर सक्रिय भएर लाग्ने बताएका छन् । “मतदाताले देखाएको सहानुभूतिले आगामी दिनमा काम गर्न थप ऊर्जा मिलेको छ,” उनले भने, “राजनीतिमा हार–जित स्वाभाविक हो । तर, हिजोका दिनमा जनतामाझ मैले गरेका प्रतिबद्धता पदमा नपुगे पनि बाहिर बसेरै पूरा गर्ने प्रयास गर्नेछु ।”

सोमबार नै उनले नेपाली काँग्रेस पाल्पा क्षेत्र नं. २ ले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा समेत नेता कार्यकर्ताहरुलाई निर्वाचनमा काँग्रेसको पक्षमा नतिजा नआए पनि कत्ति पनि विचलित नहुन आग्रह गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा निर्वाचन परिचालन समिति पाल्पाका संयोजक विरबहादुर रानाले चुनावी मैदानमा हार जित हुनु स्वभाविक भएको भन्दै उच्च मनोवलका साथ संगठनमा लाग्न सबै नेता कार्यकतार्हहरुलाई आग्रह गरे । काँग्रेस उपसभापति झपेन्द्र गहिरे, काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी लगायतले निरास नहुन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे । धन्यवाद ज्ञापन कार्यक्रम क्षेत्रिय सभापति जिसीको अध्यक्षता,सचिव कृष्णबहादुर आलेको सञ्चालनमा भएको थियो । उता क्षेत्र न.२ मा पराजित भएका नेकपा (एमाले)का ठाकुरप्रसाद गैरे, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शुभेच्छुक र मतदाताहरुलाई धन्यवाद दिएका छन् । पराजित भए पनि आउँदा दिनमा पाल्पाली जनताको सेवामा अझ जिम्मेवारीपूर्वक लाग्ने उनीहरुले बताएका छन् । पाल्पा क्षेत्र नं. १ मा विजयी भएका काँग्रेस नेता सन्दीप रानाले पनि गाउँ गाउँमा पुगेर मतदाताहरुलाई धन्यवाद दिइरहेका छन् ।




