Shittalpati
संसद् भवन छिटो तयार गर

२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट २७५ सांसद चुनिएर संसद् प्रवेश गर्दै छन् । तर निर्वाचित भएर आएका सांसदको बैठक बस्ने भवनको अझै टुंगो छैन । सिंहदरबारभित्रै संसद् भवन निर्माणाधीन रहे पनि पूरा हुन सकेको छैन । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा घोषणा गरेको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने  संवैधानिक व्यवस्था छ । तर, दुवै प्रणालीबाट निर्वाचित भएर आउने २ सय ७५ जना नवनिर्वाचित सांसदलाई शपथ गराउने तथा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने संसद् भवन भने छैन । जेनजी आन्दोलनमा संसद् बस्दै आएको बानेश्वरस्थित भवन जल्न पुगेको छ । 

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन पूरै रूपमा तयार हुन सकेको छैन । जसले गर्दा शपथग्रहण समारोह समेत कहाँ राख्ने भन्ने चिन्ता संघीय संसद् सचिवालयलाई परेको छ । यद्यपी निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम सम्पन्न नभए पनि आगामी प्रतिनिधिसभा बैठक सोही भवनमा सञ्चालन गर्नेगरी आवश्यक तयारी भइरहेको छ । यसअघि संसद् बैठक नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । तर भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि उक्त भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । त्यसपछि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद् भवनमै बैठक सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । नयाँ आउने सांसदहरू बस्ने स्थान छैन भन्ने सरकारमा बस्नेहरूलाई पहिल्यै थाहा थियो । र पनि समयअगाडि संसद् भवन बनाउन उच्च प्राथमिकता दिइएन । राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, विभागीय मन्त्री र सचिवहरूले पटक–पटक निर्माणाधीन संसद् भवनको निरीक्षण गर्दै आएका थिए । निरीक्षणका क्रममा सबैले काम छिटो सम्पन्न गर्न निर्देशन दिए । संसदीय समितिहरूले पनि बेला–बेलामा अनुगमन गरी निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्दै आएका थिए । तर पनि समयमा भवन तयार हुन सकेन । अब छिटो भन्दा छिटो भवन निर्माणको काम सम्पन्न गरी नयाँ सांसदलाई सोही भवनमा राखेर प्रतिनिधिसभा बैठक राख्ने वातावरण बनाउने दिशामा सरकारले गम्भीर भएर ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update