पाल्पा, मगर समुदायको बाहुल्य रहेको पाल्पामा धुमधामका साथ ४४ औं राष्टिूय मगर दिवस मनाइएको छ । दिवसका अवसरमा यहाँका विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् ।
जिल्लाका विभिन्न स्थानमा भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रमहरु भएको नेपाल मगर संघले जनाएको छ । दिवसको अवसरमा यहाँका दशवटै स्थानीय तहले सार्वजनिक बिदा दिए ।मगर समुदायमा विभिन्न परिकारका खाना खाने, नाचगान गर्ने, रमाउने गरेर दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बंगुर, कुखुराका परिकार खाएर रमाइलो गरे । “मगर एकता दिवस मगर बाहुल सबैका घर, गाउँटोलसम्म खुसीका साथ मनाएका छन्,”माथागढी गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष थापा मगरले भने, “मगर एकता दिवसमा मगर समुदायका लागि महत्त्वपूर्ण दिन हो । रमाउने, खुसीयाली साटासाट गर्ने दिनका रूपमा मनाउने गरिएको छ ।”
स्थानीय तहले सार्वजनिक बिदा दिएपछि पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहे । मगर दिवसका अवसरमा गाउँ, टोलमा जम्मा भएर झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन, साँस्कृतिक कार्यक्रम, मगरी परिकारहरु प्रदर्शन, खाने, पिउने गरेका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्टिूय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ । जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास छ । विसं २०३९ फागुन १५ गते नेपाल लाङ्घली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् ।


