पाल्पा, नेकपा एमाले पाल्पाले केन्द्रिय सदस्य नारायण प्रसाद आचार्यको घरमा शोकसभा गरेको छ । केन्द्रिय सदस्य आचार्यका बुवा ९३ बर्षीय दिल्ली प्रसाद आचार्यको यही फागुन १७ गते निधन भएको दुःखद घडीमा घरमै पुगी एमाले पाल्पाले शोकसभा आयोजना गरेको हो ।
निस्दी गाउँपालिकामै चुनाव प्रचार प्रसारको क्रममा आचार्यका बुवाको दुःखद निधन भएको थियो । शोकसभालाई सम्वोधन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले बुवा दिल्लीप्रसाद एमाले सक्रिय कार्यकर्ता रहेको र कम्युनिष्ट पार्टीलाई माथी उठाउन सधै सहयोग गर्ने एक सच्चा इमान्दार, अनुभवी कार्यकर्ता गुमाउनु पर्दा, पार्टीलाई ठूलो क्षति पुगेको बताए । केन्द्रिय सदस्य आचार्यलाई शोकको पिडा परेकै अवस्थामा अर्काे तिर प्रतिनिधिसभा निर्वाचनमा उप विजेता बन्नु पर्दा सिङ्गो पार्टीलाई पिडा माथि पिडा भए पनि, आगामी दिनमा एमाले अझै शक्तिशाली भएर उत्रिने बताए । निर्वाचनमा हार जित हुनु स्वभाविक भएको बताउदै लुम्बिनी प्रदेश अध्यक्ष कंडेलले बर्षे खहरे भेलले बगाएकोले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै एमाले अझै जुरमुराएर उठ्ने दावी गरे ।
शोकसभामा एमाले केन्द्रिय सदस्य आचार्यले बुवाले कम्युनिष्ट पार्टी प्रति देखाएको बाटो आफुले अनुसरण गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । निर्वाचनमा भएको पराजयलाई स्वभाविक रुपमा लिदै आचार्यले १२ औ पून्यतिथी पछि मतदातालाई धन्यवाद तथा आभार व्यक्त गर्न जनताको घर दैलो गर्ने बताए । फागुन २१ गतेको निर्वाचनमा मतदान सबै मतदाता प्रति केन्द्रिय आचार्यले धन्यवाद दिदै निर्वाचनमा पराजय भएपनि पाल्पाको विकास र जनताको काममा निरन्तर लाग्ने प्रतिवद्धता जनाए । शोकसभामा पूर्वखोला गाउँपालिकाका समाजसेवी निलकण्ठ न्यौपानेले स्वर्गीय दिल्ली प्रसादको जिवनीबारे चर्चा गरे ।
शोकसभामा एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्तिले पार्टीका केन्द्रिय सदस्य आचार्यको बुबा दिल्ली प्रसादको निधनले सिङ्गो पार्टी क्षेत्रमा ठुलो क्षती पुगेको बताए । शोकसभा पार्टी उप सचिव दिपक विश्वकर्माको सञ्चालनमा भएको थियो । शोकसभामा केन्द्रिय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरे, केन्द्रिय सल्लाहकार परिषद सदस्य फर्सुराम भट्टराई एमालेका नेता, कार्यकर्ता सहित, लुम्विनी प्रदेश सभामुख, तुलाराम घर्तीमगर स्वास्थ्यमन्त्री खेम बहादुर सारु, प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठ सहित विभिन्न पालिकाका प्रमुख उप प्रमुख सहितका जनप्रतिनिधीहरु, एमाले गाउँ कमिटीका अध्यक्ष सहित पदाधिकारीहरु, तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।


