Shittalpati
रामपुरमा प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच दोहरी

इमान सिं राना
पाल्पा(रामपुर),रामपुर नगरपालिकाको सातौं नगरसभा सकिएसंगै नगरपालिकाको गतिविधिलाई लिएर प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच विज्ञप्तीमा दोहरी सिर्जना भएको छ । एक पक्षले विज्ञप्ती निकाल्न साथ पुनः अर्को पक्षले विज्ञप्ती फाल्दै आ–आफ्ना धारणाहरु सार्वजनिक गर्दै विज्ञप्तीमै दोहरी गर्दै आएका छन् । गत असार ३१ गते भएको नगरसभालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुरले केही विषयहरुमा आपत्ति जनाउँदै साउन १ गते पत्रकार सम्मेलन गरेको थियो ।


प्रतिपक्ष नेकपाले विज्ञप्तीमा उठाएका सवालको जवाफ फर्काउँदै सत्ता पक्ष नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिले साउन ३ गते विज्ञप्ती जारी गरेको थियो । त्यस लगत्तै रामपुर नगरपालिकाले साउन ४ गते नेकपाले उठाएका विषयप्रति आफ्नो धारणा सार्वजनिक ग¥यो । नेपाली काँग्रेस रामपुर र रामपुर नगरपालिकाले राखेका कुराहरुमा असहमती जनाउँदै नेकपा रामपुरले विहिबार पुनः आफ्नो धारणा सार्वजनिक गरेको छ । विहिबार बेझाँडमा पत्रकार सम्मेलनमार्फत विज्ञप्ती जारी गर्दै नेकपाले बुँदागत रुपमा प्रकाश पार्ने प्रयास गरेको हो ।


नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराईले विज्ञप्तीमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘साउन ३ गते नेपाली कांग्रेस रामपुर नगर समितिबाट जारी विज्ञप्ती प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कमिटिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसमा प्रकट भएका त्यस पार्टीको अभिव्यक्ति, धारणा र मनगढन्ते रुपमा लगाईएको आरोप र झुट्टा कुराहरुमा हामी असहमती राख्दछौं र त्यस्को घोर भत्र्सना पनि गर्दछौं ।’ नेकपाले नगरपालिकाको विज्ञप्तीमा व्यक्त भएका कुरा र धारणा प्रति पनि कडा असहमती जनाएको छ । यस अघिको विज्ञप्ती पार्टीकोलाई नभई नगरपालिकालाई लक्ष्यित गर्दै जारी गरिएको भन्दै नेकपाले कांग्रेसले नगरपालिकाको नेतृत्वलाई ढाकछोप तथा ओत र अधुरो बुझाईबाट गरिएको खण्डन प्रति अपत्ति जनाएको हो ।


नेकपाले नदीजन्य पदार्थको आय, सामाजिक सुरक्षा भत्ताको विषय, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, खरको छाना विस्तापित गर्ने कार्यक्रम, जब्गादी, खालीवन रातामाटा सडक, बजेट खर्च हुन नसकेका कुरा, आयव्याय सार्वजनिक, सुशासन, पर्यटन मैत्री शहरको गुरु योजनाको विषयमा बुँदागत रुपमा आफ्नो धारणा सार्वजनिक गरेको हो । विज्ञप्तीमा नेकपाले रामपुर नगरको चौतर्फी विकास समृद्धि र सरकारी बजेटको पादर्शीता र सदुपयोग होस् भन्ने चाहेको बताएको छ । ‘पहुँचको आधारमा मात्र नभई सबै गाउँ टोलमा सन्तुलित विकास हुनु पर्छ र विकास बजेटबाट समयमा काम हुनु पर्छ भन्ने ठान्दछ ।’ पत्रकार सम्मेलनमार्फत नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इञ्चार्ज राजु प्रसाद श्रेष्ठले एउटा गल्तीलाई बङ्गाएर गल्ती गर्नु महागल्ती भएको बताए । उनले नेकपाले प्रमाण सहित तथ्यमा रहेर आफ्नो धारणा राखेको बताए । श्रेष्ठले नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने प्रयास गरे पनि छलफल गरेर निर्णय गर्नुको सट्टा निर्णय गरेर छलफल गर्ने शैली कै कारण समन्वय समितिबाट बाहिरिएको बताए । उनले यस विषयमा सुनुवाई नभएमा नेकपाले अब विज्ञप्ती बाहेकको अन्य उपाय अवलम्बन गर्ने बताए । रामपुर नगरपालिका १ का वडा अध्यक्ष मित्रलाल कंडेलले रामपुर नगरपालिकालाई विकास निर्माणमा पार्दर्शिता र न्यायोचित सेवासँगै अघि बढाउन पहल भए पनि बहुमतको आडमा विधी र प्रक्रियालाई मिचेर बढ्ने प्रवृति बढेको बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका नगर इञ्चार्ज राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन नेकपा नगर कमिटी प्रचार विभाग संयोजक मित्रलाल गौतमले गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update