Shittalpati
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’

गुल्मी, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको गुल्मीको रेसुङ्गा पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँबाट ठूला–ठूला हिमशृंखलासहित रमणीय दृश्य देख्न सकिन्छ । मौसमका लागि यो क्षेत्र अत्यन्त उपयुक्त समेत रहेको छ ।

गर्मीको समयमा रेसुङ्गा आउनेहरुका लागि उपयुुक्त मानिन्छ । विशेष गरी तराईको गर्मी छल्न यो क्षेत्र उपयुक्त विकल्प पनि हो । यहाँ बाह्रै महिना चिसो हावा चल्ने गर्दछ । रेसुङ्गा क्षेत्रलाई शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामका रुपमा समेत लिने गरिन्छ । यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ ।  त्यसैले पनि यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो । तम्घासबाट २५ मिनेटको यात्रापछि रेसुङ्गा पुग्न सकिन्छ । दिउँसो र रातको  समयमा देखिने सुन्दर दृश्यले जोकोहीको मन लोभ्याउने गर्दछ । यहाँ घुम्न र प्राकृतिक आनन्द लिन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढ्दो छ । रेसुङ्गाको आफ्नै धार्मिक, ऐतिहासिक र पौराणिक महत्व रहेको छ ।

 प्राचीन तपोभूमि रेसुङ्गामा कश्यप ऋषिले तपस्या गरेको र त्रेता युगमा महर्षि यहाँ बसेको इतिहास छ । यस क्षेत्रसँग जोडिएका विभिन्न प्रसंग महाभारत तथा वाल्मीकि रामायणमा समेत उल्लेख भएको पाइन्छ । सत्य युगदेखिको तपोभूमिको रूपमा रहेको रेसुङ्गा ऋष्यशृंगबाट अपभ्रंश भई रेसुङ्गा नाम रहन गएको कथन छ । महर्षि ऋष्यशृंग यस क्षेत्रमा तपस्या गरी बसेको थाहा पाई उनलाई भेट्न राम लक्ष्मण रेसुङ्गामा आएको ऐतिहासिक तथ्य समेत योसँग जोडिने गर्दछ । सो क्रममा रामले तिर्खा मेटाउन वाणमार्फत रामकुवा बनाएको र लक्ष्मणले पनि वाण प्रहार गरी तम्घासको चारीखोलामा पानी निकालेको रोचक प्रसंग समेत यसमा उल्लेख छ । रेसुङ्गा यज्ञशाला, सिद्धस्थान, रेसुङ्गा मठ, भ्यू टावर, महापोखरी, सानो रेसुङ्गा, गौशाला, साउने मठ लगायतका धार्मिक महत्व बोकेका यस ठाउँका यी स्थानले विभिन्न कालखण्डका ऐतिहासिक तथ्यलाई उजागर गरेको पाइन्छ ।  करिब २०० भन्दा बढी चराचुरुंगीको बासस्थान रहेको यस क्षेत्रमा यात्रा गर्दा चराका फरक–फरक आवाजले वातावरण नै संगीतमय बनेर गुञ्जेको आभास मिल्छ । पर्यटकीय सम्भावना प्रचुर रहेको यस क्षेत्रको संरक्षण, व्यवस्थापनको काम समेत भैरहेको छ । पछिल्लो समय रेसुङ्गा नगर सरकारले समेत यस क्षेत्रलाई नेपालकै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी अगाडि बढेको छ । उसले पर्यटन पूर्वधारको विकाससँगै विश्वरभर चिनाउन प्रचारप्रसारलाई तिव्रता दिएको छ । नगरपालिकाले  धेरै धेरै भन्दा पर्यटक भित्र्याउन गत जेठ २१ देखि नै ‘जाउँ हिँड रेसुङ्गा अभियान चलाएको छ । अभियान सञ्चालनको करिब १ वर्षको अवधिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएका छन् । करोडौंको लगानीमा गर्जुरामा रेसुङ्गा पार्क निर्माण गरिएको छ । जसले पर्यटक भित्र्याउन थप टेवा पुगेको  छ ।  गत विहीबार काठमाडौंबाट समेत ‘जाउँ हिँड रेसुङ्गा अभियानको प्रारम्भ गरिएको छ ।

नगर सरकारले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत अभियानको उद्घाटन गरको हो । रेसुङ्गालाई विश्वभर चिनाउन र पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन ‘जाउँ हिँड रेसुङ्गा अभियान सञ्चालन गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा ‘जाउँ हिँड रेसुङ्गा कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि संघीय सरकारबाट आवश्यक सहयोग गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update