Shittalpati
रामपुर नगर सरकारले दियो विद्यालयलाई प्राथमिक उपचार बक्स

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाई प्राथमिक उपचार बक्स दिएको छ । नगर सरकारले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका ६० वटा विद्यालयलाई प्राथमिक उपचार बक्स दिएको हो ।

प्रधानाध्यापकहरुको बैठकको अवसरमा प्राथमिक उपचार बक्स वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रमणबहादुर थापाले विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त बक्स हस्तान्तरण गरेका हुन् । बक्स हस्तान्तरण गर्दै थापाले विद्यालयमा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालयहरुलाई सामग्री वितरण गरिएको बताए । उनले विद्यालय समयमा कुनै विद्यार्थीमा स्वास्थ्य समस्या आएमा प्राथमिक उपचारका लागि बक्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नगर प्रमुख थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै रामपुर नगरपालिकाले अवलम्बन गरेको शैक्षिक नीति र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकाको विनियोजित बजेटमार्फत सामग्री वितरण गरिएको जानकारी दिदै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे । विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा विद्यालयले गरेका नविनतम कार्य तथा गतिविधि र शैक्षिक सुधार सम्बन्धी विभिन्न विषयमा छलफल भएको थियोे । रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको अध्यक्षता, नगर शिक्षा अधिकृत विकल काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update