Shittalpati
लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस्

भर्खरै तेस्रो नेपाल लगानी सम्मेलन २०२४ सकिएको छ । वैदेशिक लगानी भित्र्याएर मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ध्येयका साथ यसवर्ष दुई दिने लगानी सम्मेलन गरिएको थियो ।  सम्मेलनमा ५५ देशका लगानीकर्ता तथा दातृ निकायका प्रतिनिधिहरु सहभागी रहेका थिए । उनीहरु सामु सरकारले लगानीका अवसरहरू प्रस्तुत गर्दै तिनमा चासो जगाउनु आफैंमा सकरात्मक मान्नुुपर्छ । सरकार र प्रतिपक्षले एकै स्वरमा लगानीको समग्र पारिस्थितिक प्रणालीमा सहजीकरण एवं सुरक्षा प्रत्याभूतिका लागि प्रतिबद्धता जनाउनुलाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ । 

सम्मेलनमा सरकारका तर्फबाट मात्र होइन, सत्तारूढ दल र विपक्षी दलका नेताले समेत सम्बोधन गर्दै निजी लगानीलाई प्रोत्साहन एवं सहजीकरण गर्ने प्रतिबद्धता गरेका छन् । एकातिर सरकार अस्थिर भइरहने, अर्कातिर राजनीतिक दलहरूको नीतिगत अलमलले संशय सिर्जना गरिरहेका बेला निजी लगानीप्रति प्रमुख राजनीतिक दलहरूले यसरी समान धारणा एवं प्रतिबद्धता व्यक्त गर्नु सुखद छ । यसले लगानीकर्तामा पक्कै सकारात्मक सन्देश प्रवाह गरेको हुनुपर्छ । देशमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौता सम्मेलनमा गरिएको  छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता पनि भएको छ । यो आफैमा राम्रो पक्ष हो । तर विगतका लगानी सम्मेलनको अनुभवलाई आधार मान्ने हो भने सम्मेलनमा गरिएका लगानी प्रतिबद्धता बराबरको रकम मुलुकभित्र भित्रिएको देखिँदैन । यसो हुनु गलत हो । विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा गरेका प्रतिबद्धताअनुसार नेपालमा लगानी गरेका छैनन् । यसैकारण विगतका लगानी सम्मेलनबाट मुलुकले अपेक्षित लाभ लिन सकेको देखिँदैन । सम्मेलन केवल प्रचारबाजीले मात्रै सफल नहुने विगतकै उदाहरण र अनुभव छन् । त्यसबाट पाठ सिकेर प्रतिबद्धता कार्यान्वयनमा सबैले ध्यान दिनुुपर्छ । यसो भयो भने मात्र सम्मेलनको सार्थकता रहन्छ । यसर्थ तेस्रो लगानी सम्मेलनमा भएका प्रतिबद्धता पनि विगतमा जस्तै कागजी प्रतिबद्धतामा मात्र सीमित नहोस् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update