Shittalpati
तानसेन नगरपालिका नगर सभाको १२ औं अधिवेशन, दुई विधेयक पारित

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको तानसेन नगरपालिकाको १२ औं नगरसभाले दुई विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक सर्वसहमत रुपमा पारित गरेको हो । बिहीबार भएको नगरसभाले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धित विधेयक २०७९ र आर्थिक ऐन २०७९ पहिलो संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ । सभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले आर्थिक ऐन २०७९ संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास समितिका संयोजक प्रदीप खनालले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धित विधेयक २०७९ बहुमतले पारित गरियोस् भनि प्रस्तुत गरेका थिए ।

त्यस्तै नगरसभामा न्यायिक समितिका संयोजक तथा उपप्रमुख सिंजालीले न्यायिक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७९/०८० को बजेट बजेट संशोधन प्रस्ताव पेश गरेकी थिइन् । उक्त प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित भएको छ । यस्तै लेखा समितिका संयोजक राजेशकुमार अर्यालले महालेखा परीक्षकको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव पनि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । तानसेन नगरपालिका क्षेत्र सार्वजनिक स्थल, राष्ट्रिय राजमार्ग सहायक राजमार्ग र स्थानीय सडक सीमा भित्र नगरपालिकाको स्वीकृत नलिई व्यक्ति÷संस्थाले आफ्नो मनोमानी ढंगले निर्माण गरी उपभोग गरिरहेका भौतिक संरचनाहरुको बहाल विटौरी कर असुली गर्न तानसेन नगरपालिकाको आर्थिक ऐन, २०७९ संशोधन गर्न बाञ्छनीय भएकाले संशोधन विधेयक पेस गरिएको उपप्रमुख सिंजालीले बताइन् ।
यस्तै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाई सेवामा पहुँच प्राप्त गर्ने नागरिकको भौतिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्था लगायतका संगठीत संस्थाहरुका माध्यमबाट सहज र दीगो रुपमा स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाई सेवा उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न बाञ्छनीय भएकाले नेपालको संविधानको धारा ५७ (४) मा भएको व्यवस्था र धारा २२६ बमोजिम यो विधेयक ल्याइएको सामाजिक विकास समितिका संयोजक प्रदीप खनालले बताए ।

लेखा समितिका संयोजक अर्यालले महालेखा परीक्षकको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/०७९ मा ७ करोड १६ लाख ५९ हजार १ सय ३५ रकम बेरुजु देखिएको बताए । उनले नगर सरकारको पुँजीगत खर्च अत्यन्त कम रहेको बताए । सभामा सदस्यहरु विमला बौडेल, कमल दर्लामी, गीता भट्टराई, अमरबहादुर राना, सीता बस्नेत, रेखा विष्ट, चेतबहादुर थापा, गोमा गैरे, माधव बस्याल, अनिता सोमै, डिलबहादुर थापा लगायतले प्रस्तुत विधेयक र प्रतिवेदन माथि टिकाटिप्पणी गरेका थिए । लोकतान्त्रिक पद्दतिको परिपालना गरेर संसदीय अभ्यासबाट सञ्चालन गरिएको नगरसभा नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता र अधिकृत भरत आचार्य र दुर्गा थापाको सञ्चालनमा चलेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update