Shittalpati
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति

रामचन्द्र रायमाझी
गुल्मी, अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएको हो ।

संविधानमै प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क अनि अपांगता भएका तथा विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था गरेको छ । संविधानमा लेखिए पनि व्यवहारमा भने यो अझै लागू भएको छैन । तर पछिल्लो समय केही स्थानीय सरकारहरुले भने विपन्न वर्गका नागरिकहरुको शिक्षामा चासो देखाएका छन् । आर्थिक अभावका कारण अधिकांश विद्यार्थीहरु एसईई भन्दा माथि पढ्न नसकेको र जनतन पढ्न खोजे पनि आफुले रोजेको प्राविधिक विषय पढ्न नसकेको अवस्थामा गुल्मीका दुई स्थानीय सरकारले उनीहरुको उच्च शिक्षाका लागि प्रोत्साहन गर्न थालेका हुन् । यहाँका रेसुङ्गा नगरपालिका र थुर्कोट गाउँपालिकाले उच्च शिक्षा पढन् विद्यार्थीहरुलाई छात्रावृत्ति मार्फत प्रोत्साहन गर्न थालेका हुन् । गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरुका लागि रेसुङ्गा नगरपालिकाले ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तर्गत नगर सरकारले एसईईमा ३.२० वा त्यसभन्दा धेरै जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । उसले पालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्नेलाई मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । शैक्षिक पलायन रोक्न र नगरभित्रको शैक्षिक गुणस्तरलाई सुधार्ने उद्देश्यले शैक्षिक अभियान नै सञ्चालन गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

नगर सरकारले एसईईमा ३.२० जीपीए ल्याएका विद्यार्थीलाई उपलब्ध गराइने छात्रवृत्तिमा दुई थरी विद्यार्थी सहभागी हुने छन् । पहिलो, जुनसुकै जिल्लाको बासिन्दा भए पनि रेसुङ्गाभित्रका शैक्षिक संस्थामा पढेर एसईई दिई अब उच्च मावि पनि पालिकाभित्रकै शैक्षिक संस्थामा पढ्नुपर्ने छ । दोस्रो, रेसुङ्गा नगरपालिका स्थायी ठेगाना भई देशका जुनसुकै विद्यालयबाट एसईई दिए पनि अब रेसुङ्गा भित्रकै शैक्षिक संस्थामा पढ्नु पर्नेछ । यस्तै धुर्कोट गाउँपालिकाले एसईई उत्र्तिण भई प्राविधिक शिक्षा पढन् चाहने गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्रावृत्ति दिने भएको छ । पालिकाले आर्थिक अवस्था अत्यन्त कमजोर भएका विद्यार्थीहरुलाई प्राविधि विषय पढ्न प्रोत्सन स्वरुप छात्रावृत्ति दिने भएको हो । प्राविधिक विषय अन्तर्गत बाली विज्ञान र भेटेनरी विषयमा तीन/तीन जना, अमिन र ओभरसियर विषयमा दुई/दुई जनालाई छात्रावृत्ति दिने निर्णय गरिएको पालिकाले जनाएको छ । उसले सूचना नै निकालेर इच्छुक विद्यार्थीहरुलाई आवेदन दिन समेत आÞवान गरेको छ । इच्छुक विद्यार्थीले भदौं ५ गतेसम्म आवेदन दिन सक्ने छन् । स्थानीय सरकारले छात्रावृत्ति मार्फत प्रोत्साहन गर्न थालेपछि विपन्न वर्गका विद्यार्थी र अभिभावकहरु उत्साहित भएका छन् । यहाँका यि दुई स्थानीय सरकारले पालिकाको शैक्षिक गुणस्तरलाई वृद्धि गर्दै सबै वर्ग र क्षेत्रका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पुर्‍याउने लक्ष्य लिएका छन् । उनीहरुले अहिले शिक्षामा गरेको लगानीले भविष्यमा राम्रै प्रतिफल दिने भएकाले पनि शिक्षामा जोड दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update