Shittalpati
निजामती सेवामा पाल्पा अब्बल हुनुपर्छ  : नगरप्रमुख थापा

हाम्रा संवाददाता
पाल्पा (रामपुर),  रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले निजामती सेवामा पाल्पा अब्बल हुनुुपर्ने बताएका छन् । नगर सरकारले नगरवासीका मागलाई ध्यानमा राखेर सञ्चालन गरेको लोक सेवा आयोगको तयारी कक्षाको शुुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

नगरप्रमुख थापाले राष्ट्र सेवक कर्मचारी भएर काम गर्न चहानेहरुका लागि सहज वातावरण सिर्जना गर्नका लागि लोक सेवा आयोग तयारी कक्षासञ्चालन गरिएको बताउँदै सबैले निजामती सेवामा अब्बल नतिजा ल्याउनुुपर्नेमा जोड दिए । उनले भने,‘ देशमै धेरै सम्भावनाहरु छन्, लगनशीलताका साथ अध्ययन गरेर लोकसेवा परीक्षामार्फत जनता र राष्ट्रको सेवामा लाग्नुुहोस् ।’ छिमेकी जिल्लाहरुको तुलनामा पाल्पाका राष्ट्रसेवक कर्मचारी कम रहेको भन्दै त्यसलाई वृद्धि गर्नका लागि लोक सेवा आयोगमा प्रवेश गर्नु पर्नेमा नगर प्रमुख थापाले जोड दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले उच्च मनोबलका साथ अध्ययन गरे सफलता पाउन सकिने बताए । उनले भने,‘लगनशीलता र मेहेनतका साथ अध्ययन गर्नुपर्ने हुन्छ ।’ रामपुर नगरपालिकाका प्रशासन अधिकृत एवं लोक सेवा आयोग तयारी कक्षाका संयोजक युवराज पन्थीले कार्यक्रम बारे प्रष्ट पार्दै लोक सेवा आयोगको तयारीका लागि ज्ञान सीप र तरिका सिकाउन आवश्यक हुने बताए । तालिममा ६० जना युवहाहरुको सहभागिता रहेको नगर पालिकाको प्रेस संयोजक दानु हिस्कीले बताए । लोकसेवा आयोगको तयारीमा लागेका युवाहरुलाई निशुल्क कक्षा सञ्चालनले नगरवासीमा उत्साह जागेको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update