Shittalpati
पुलले जोड्यो स्याङ्जा र पाल्पा, बस सञ्चालनमा आएपछि स्थानीयमा खुसीयाली

विष्णु पाण्डेय
पाल्पा । जिल्लाको रानीमहल नजिकै निर्माण भएको पुलले पाल्पा र स्याङ्जा जोडिएको छ । रानीमहल क्षेत्रमा निर्माण भएको मोटरेबल पुलले दुई जिल्ला जोडिएको हो ।
पुल सञ्चालनमा आएपछि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका स्थानीयले राहत महशुस गरेका छन् । पश्चिम नेपाल बस व्यावसायी प्रालि र श्रीनगर बस व्यावसायी प्रालिले बस सञ्चालनमा ल्याएसँगै स्थानीयले राहतको महशुस गरेका हुन् । बस पुगेपछि यात्रामा सहज भएको छ । यसअघि स्थानीयहरु बुटवल जानका लागि १ घण्टाको पैदल हिडेर अर्गली आई यात्रा गर्नुपर्ने र मिर्मी राम्दी हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । मोटरेबल पुस सञ्चालनमा आएपछि बुटवल, तानसेनदेखि स्याङ्जाका लागि दुरी कम हुने भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

पुल सञ्चालनले दुई जिल्ला बीच सिँधा सम्पर्क हुनुका साथै रानीमहल घुम्न जाने पर्यटकहरू स्याङ्जाको सटुका हुँदै आलमदेवी मन्दिर र मिर्मीसम्म सहज रूपमा जान सक्ने भएका छन् । पुल नहुँदा तानसेनदेखि मिर्मीसम्म पुग्नका लागि ६० किलोमिटर बढी दूरी रहेपनि पुल सञ्चालनमा आएसँगै ३० किलोमिटर दूरी कम भएको छ । ‘बिरामी हुँदा अस्पताल पुग्न नपाई मरिन्छ कि भन्ने थियो अब बाटो खुल्यो, उपचारमा समस्या नहोला’ स्थानीय धुमबहादुर सोमैले भने । गाडी सञ्चालनमा आएपछि स्थानीयस्तरमा उत्पादित कृषिउपजहरु समयमै बजार पठाउन नपाउँदा कुहिएर जाने समस्याको अन्त्य हुनेमा आफु विश्वस्त रहेको स्थानीय शिक्षक केशरबहादुर क्षेत्रीले बताए ।

पश्चिम नेपालले ३ वटा बस सञ्चालनमा ल्याएको छ, भने श्रीनगरले एउटा बस सञ्चालमा ल्याएर स्थानीयलाई सेवा दिएको हो । पश्चिम नेपाल बस व्यवसायी प्रालिको बस हटियाबाट प्रत्येक दिन विहान ६ः३० बजे, हटिया खोर्दी, प्यूँघा, रानीमहल, दैलातुङ, तानसेन हुँदै बुटवलको लागि छुट्ने छ, भने श्रीनगर बस व्यवसायी समितिको बस प्रत्येक दिन विहान ७ः४५ मा कालावडारबाट कालावडार, प्यूँघा, रानीमहल, हात्तीढुङ्गा, अवहल, तानसेन हुँदै बुटवलका लागि छुट्ने समितिले जनाएको छ । बुटवलबाट प्रत्येक दिन पश्चिमाञ्चलको १२ बजे र श्रीनगरको १ बजे बस छुट्ने छ । मोटरेबल पुल सञ्चालनमा आएपछि स्थानीयलाई यातायातमा सहजता भएको र स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहज भएको कालीगण्डकी गाउँपालिका १ का वडा अध्यक्ष सोभिलाल चौतारेले बताए । यातायात व्यवसायी, जनप्रतिनिधि, सरोकारवाला निकाय बीच छलफल पश्चात् भाडादर निर्णय गरिएको वडा अध्यक्ष चौतारेले जानकारी दिए । अब हटियादेखि रानीमहल हुँदै बुटवलसम्मका लागि तीन सय २० लाग्ने पश्चिम नेपाल यातायात प्रालिका सवारी चालक शंकर न्यौपानेले बताए ।

पुलकै अभावमा सय किलोमिटर बढी यात्रा गरेपछि बुटवलदेखि सुटुका जानुपर्ने बाध्यता हटेको र अहिले बुटवलबाट ५४ किलोमिटरमै सटुका पुग्न सकिने हुदाँ स्थानीयमा खुसियाली छाएको छ । रानीमहलबाट सटुका जोड्ने पक्की पुल ०७१ असार ९ मा सम्झौता भएर काम अघि बढेको थियो । निर्माण व्यवसायीको ढिलाईका कारण २०७६ पुस मसान्तमा मात्र निर्माण कार्य सकिएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update