Shittalpati
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान

हाम्रा संवददाता
गुल्मी, छत्रकोट गाउँपालिका–४, दिगामका प्रेमनाथ पन्थले आठ रोपनी बारीमा उखु खेती गर्दै आएका छन् । उनले एक दशकदेखि व्यावसायिक उखु खेती गर्दै आएका हुन् । पन्थले उखुबाट खुदो र गुड उत्पादन गरी विक्री गर्दै आएका छन् । गुड र खुदो विक्रीबाट पन्थले वार्षिक ७ देखि १० लाख आम्दानी गर्ने गरेको बताउँछन् । उनको आम्दानीको स्रोत भनेकै गुड र खुदो हो । उनको मात्र होइन यहाँका अधिकांस उखु किसानको आम्दानीको स्रोत गुड र खुदो हो । गुड र खुदोको प्रख्यात ठाउँको रुपमा परिचित छत्रकोटको दिगाम र रुरु क्षेत्रको थानपतिका किसानले गुड र खुदो विक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

पुख्यौलीदेखि व्यावसायिक उखु खेतीमा लागेका यहाँका स्थानीयसँग रोजगारीको अर्को अवसर छैन । उनीहरूले पहिलेदेखि नै स्थानीय रिडीको माघे संक्रान्ति मेलामा गुड व्यापार गर्थे । अहिले रिडीसँगै पाल्पा, बुटवल, पोखरा, काठमाडौंदेखि विदेशसम्म दिगाम र थानपतिको थोर्गेली गुड र खुदो प्रख्यात छन् । यतिबेला यहाँका किसानलाई खुदो र गुण बनाउन भ्यान नभ्याइ छ । ग्रामीण क्षेत्रका पाखो बारीमा लगाएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा विक्री गरी यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । उखुका लागि थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगबाट खुदो र गुड बनाउने गरेका छन् । पहिले गाउँमा गोरुमार्फत कोलमा उखु पेलेर रस निकालिन्थ्यो । यसरी परम्परागत तरिकाले काम गर्दा समय र जनशक्ति धेरै लाग्ने भएपछि अहिले प्रविधिको विकाससँगै मेसिनबाट उखु पेल्ने र गुड–खुदो बनाउने गरिएको छ । यहाँ बनाइएको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखि विदेशसम्म विक्री वितरण हुँदै आएको छ । जिल्लाबाट अन्यत्र जानेहरुले समेत गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् । गाउँमा सामान्य उखु खेती गर्ने किसान पछिल्लो समय ब्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्ला भित्रका विभिन्न स्थानमा २ सय रोपनी भन्दा बढी जग्गामा उखु खेती हुने गरेको छ ।

उत्पादित खुदो प्रतिलिटर १ सय रुपैयाँदेखि १ सय ८० रुपैयाँ, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । जिल्लाभित्र उखु खेती गरेका किसानले उखु खरिद गरी गुड तथा खुदोबाट वार्षिक करिब ३० लाख बरावरको कारोबार गर्ने गरेको कृषक नारायण ज्ञवालीले बताए । गाउँमै सञ्चालन भएका केहि उद्योगले स्थानीयलाई रोजगारी समेत दिएका छन् । स्थानीयस्तरमै पाएको रोजगारीले घर खर्च र छोरा छोरीलाई पढाउन सहयोग मिलेको स्थानीय विष्णु अप्तरीले बताइन् । उखु किसानलाई उखु ब्लक कार्यक्रम मार्फत बिउ, पकाउने भाडा, मेसिनहरू अनुदानका थुप्रै कार्यक्रम समावेश गरेको रुरुक्षेत्र गाउँपालिका–३ का वडा अध्यक्ष शेषनारायण पौडेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update