Shittalpati
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पा, जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।

कृषक खनालले कुसुमखोलाका किसानहरुको प्रतिनिधित्व गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ज्ञापन पत्र पठाइएका छन् । बाँदरले हैरानी गराएपछि यहाँका किसानहरु बाँदर नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई गुहारेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा बाँदर नियन्त्रण गरिदिनुको साथै कृषक बिमाको ब्यवस्था गर्नुपर्ने,उचित सिचाँइको ब्यवस्थापन गरिनुपर्ने,कृषि ज्याला निर्धारण हुनुपर्ने,प्राङ्गारिक मलको कारखाना स्थापन गर्नुपर्ने,प्रत्येक स्थानीय तहमा खाद्यान्न गोदाम स्थापना गर्नुपर्ने,भूमी बैंकको स्थापना गर्नुपर्ने, मुक्तकमैया, भूमीहिन, बाढी पीडित, भूकम्प पीडित कृषकलाई खेतीयोग्य जग्गा उपलब्ध गराउनुपर्ने, खेतीको विविधकरण गरी जहाँ जे उत्पादन हुन्छ त्यही खेतीलाई सरकारले प्राथमिक दिनुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानका उचित माग सम्बोधनका लागि ज्ञापन पत्रमा प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । अगुवा कृषक खनालले आफुले बाँदरको समस्याले गर्दा मकै खेती गर्न छोडेर बेसार खेती गरेको बताएका छन् । उनले सरकारी संयन्त्र प्रभावकारी नहुँदा नेपालमा प्रसस्त संभावना हुँदा हुँदै पनि कृषकहरुले उचित फाइदा लिन नसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update