Shittalpati
गुल्मीको कालीगण्डकी कृषि जोन बन्दै

जगदीश भट्टराई

गुल्मी, सुदरपुर्व गुल्मी कालीगण्डकी गाउँपालिका १,गिदुवा टोलकी ३५ बर्षकी भूमिकला पाण्डेलाई अहिले आफ्नो घर खर्चका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । भूमिले, स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यवसायिक रुपमा बाख्रापालन गर्न थाले पछि दुई छोरा छोरीलाई उच्चशिक्षा पढाउने खर्चको जोहो गर्ने समस्या पनि हटेको छ । उनी दिनप्रति दिन नेतृत्व विकास र उद्यमशीलतामा लाग्ने गरेका कारण टोल र वडाका सयौ महिलाहरु उनीसँंगै उद्यमशील बन्ने तरखरमा छन् । ‘म मात्रै बनेर भएन, अरु महिलाहरु सबै सँगै उद्यमशील बन्नुपर्छ भन्ने मेरो सोंच भएकै कारण म यो समितिको सचिव भएर काम गरेकी हुँ’ पाण्डेले भनिन् । उनी जस्तै वडाका ६० घर परिवारलाई व्यवसायिक वाख्रा पालन तथा स्मार्ट कृषक बनाउने काममा लुम्बिनी प्रदेश सरकार र कालीगण्डकी गाउँपालिकाको स्मार्ट कृषि कार्यक्रम सहयोगी बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका – १ हर्मिचौरका ६० घर परिवारलाई स्मार्ट बाख्रा व्यवसायिक बाख्रापालन तथा बजारीकरणले गर्दा वडाका सयौं किसानहरु आर्थिक उपार्जनमा लागेकै कारण गाउँ नै उद्यमशील बन्ने तयारीमा छ ।

महिला मात्रै होईन पुरुष अनि युवाहरु पनि उद्यमशीलताका सहयोगी बन्दै गएको युवा स्मार्ट कृषक अनन्त पाण्डेले बताए । उनको आधुनिक वाख्रा खोरमा अहिले पनि दुई दर्जन बाख्रा छन् । उनले बाख्रा पालन मात्रै गरेका छैनन्, व्यवसायिक भैसी तथा गाई पालन समेत गरेर दुधलाई बजारीकरण गर्ने काम गरिरहेका छन् । स्मार्ट कृषि समूहका कोषाध्यक्ष समेत रहेका काम पाण्डे भन्छन्, ‘प्रदेश र गाउँपालिकाको संयुक्त प्रयासमा शुरु भएको स्मार्ट कृषि कार्यक्रमले हामीलाई व्यवसायिक र उद्यमशील बन्ने कार्यमा प्राविधिक तथा व्यवसायिक सिप दिएर उत्साहित बनाएको छ ।’

पाँच बर्षे परियोजनामा लुम्बिनी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको तर्फबाट १ करोड २५ लाख र स्थानीय सरकारको म्याचिंङ्ख फण्टको थप २० प्रतिशत (२५ लाख) गरी १ करोड ५० लाख लगानीको आयोजनाले गाउँपालिकास्तरमै बाख्रापालनबाट आर्थिक समृद्धिको बाटो पहिल्याउन लागेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा मगरले बताए । उनले भने ‘अब राजनैतिक चेतनाले मात्रै हुँदैन्, उद्यमशीलता र आर्थिक सवलीकरणलाई बढावा दिनुको विकल्प भने कै यस्ता खालका आयोजना हुन् ।’महिला संशक्तीकरण, पोषणखाना, सरसफाई र उद्यमशीलताको भावना जागृत गर्ने सोंचका साथ स्वरोजगार समाजको परिकल्पना अनुरुप प्रदेश सरकारले शुरु गरेको यो कार्यक्रमलाई पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल पाल्पाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । यसबाट कृषि र पशुपालनका क्षेत्रमा कृषकहरु संस्थागत रुपमा व्यवसायिकतातर्फ लाग्ने कार्यमा जोड पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली मगरको भनाई छ । कार्यक्रमलाई विस्तारित र व्यवसायिक बनाउन सकियो भने आर्थिक समृद्धिलाई व्यवहारिक रुपमै अगाडि बढाउन सकिनेमा आफुहरु विश्वस्त रहेको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले बताईन । उनले भनिन ‘महिलाहरुले आफ्नो पेवामा मात्रै अधिकार होईन, आर्थिक सम्पन्नता र उद्यमशीलतामा समेत महिला पुरुषको बराबर योगदान आवश्यक छ, भन्ने कुरालाई यो कार्यक्रमले महत्व दिएको छ ।’

उपाध्यक्ष थापा भन्छिन्, ‘सरसफाई, स्वास्थ्यकर र पोषणयुक्त आहारका साथै, बालबालिकाको आत्मअनुसाशनका क्षेत्रमा पनि यो कार्यक्रमको प्रभावकारिता रहेको हुँदा, यस्ता कार्यक्रमहरु सबै वडामा फैलाउनुपर्ने आवश्यकता छ ।’ वडा १ को हिलेस्मार्ट बाख्रापालन समितिका अध्यक्ष ठानेश्वर पाण्डे भन्छन्, ‘यो कार्यक्रमले के महिला के पुरुष सबै परिवारको समग्र आर्थिक, सामाजिक र शैक्षिक तथा स्वास्थ्य क्षेत्रको विकासका साथै उद्यमशीलताप्रतिको जागरण फैलाएको छ । समस्याहरु पनि छन्, तर क्रमशःसमाधान गर्दै गएको खण्डमा हामी गाउँलाई चार बर्षमा कृषि स्मार्ट गाउँका रुपमा विकास गर्छौ ।’ समूहगत रुपमा मासुमा आत्मनिर्भरताका साथै सहकारी, सहकार्य अनि समुन्नतिको सूचकहरुले प्रगति गर्दै गएकोमा आफुहरु उत्साहि भएको उनले बताए । कालीगण्डकी गाउँ पालिकाका १ का वडाअध्यक्ष ठानेश्वर पाण्डे (ख)लाई शुरु शुरुमा यो परियोजना आउँदा यति राम्रो होला भन्ने विश्वास लागेको थिएन्, तर यो लागु भए पछि, बाख्रापालन कृषकहरु व्यवसायिक र संस्थागत बन्दै गएको, वडा हुँदै गाउँपालिका नै मासुमा आत्मनिर्भर हुने कार्यलाई कार्यक्रमले सहयोग हुने विश्वास बढेको उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका पशु विकास तथा प्रविधि प्रसार शाखाका प्रमुख युवराज ज्ञवाली भन्छन्, ‘यो कार्यक्रमले केवल आर्थिक क्षेत्रको मात्रै नभएर, प्रविधि र कृषि सूचना प्रणालीमा समेत महत्वपूर्ण योगदान दिएको छ, । कृषक तथा पशुपालकहरुलाई सूचना प्रणालीमार्फत बजारको अवस्था जानकारी दिनुका साथै प्रविधि र सीपमा दक्षता कायम गर्ने कार्यमा जोड दिनु पनि महत्वपूर्ण पाटो हो ।’

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा.चन्द्रबहादुर रानाका अनुसार स्थानीयहरुको माग अनुरुप यो कार्यक्रम आएको हो । स्मार्ट कृषक उत्पादन र बाख्रापालन व्यवसाय स्रोत केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गर्ने योजना अनुरुप काम शुरु भएको छ । कालीगण्डकी गाउँपालिकाका पशुप्राविधिक किरण थापाका अनुसार यो कार्यक्रमले वाख्रापालनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले रोजगारी र उद्यमशीलताका कार्यमा जोड दिदै पाँच बर्षे यो कार्यक्रमले पाँचौ बर्ष पछि बाख्राको हव क्षेत्र निर्माण गर्नुका साथै सहकारीका रुपमा परिणत गरी कृषकहरुलाई हस्तान्तरण गर्दासम्म यहाँको आर्थिक विकास सूचक राम्रो हुने बताए । कृषि, पशुपालनका लागि गाउँपालिकाका ७ बटै वडा अत्यन्तै उपयोगी भएकै कारण पनि उद्यमशीलताको विकासका लागि गाउँ सरकारले पनि आफ्नो कुल विकास बजेटको ४० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update