Shittalpati
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा

गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।

कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी र फलफूल तथा पशुजन्य उत्पादनले बजार तथा उचित मूल्य पाउन नसकेको गुनासो आएपछि जिल्लाका सत्यवती गाउँपालिकाका, चन्द्रकोट गाउँपालिकाका, कालीगण्डकी गाउँपालिकाका र मुसीकोट नगरपालिकाले कृषि बजारीकरणमा चासो देखाएका छन् । यहाँका किसानहरुले उत्पादन गरेका वस्तुहरुले उचित मूल्य र बजार पाउन नसकेको गुनासोलाई चार स्थानीय सरकारले सामूहिक छलफलबाट सम्बोधन गर्ने प्रयास गरेका छन् । पछिल्लो समय यहाँका किसानहरु कृषिमा आकर्षित भए पनि त्यसको फाइदा बिचौलियाले लिएपछि उनीहरु समस्यामा परेका छन्  । उत्पादन राम्रो गरे पनि बजार नहुँदा समस्या हुने गरेको सत्यवती गाउँपालिकाका कृषकहरु बताउँछन् । उनीहरु भन्छन्‘उत्पादन राम्रो गरे पनि बजार नहुँदा समस्या छ,’ त्यसैमाथि उचित मूल्य नपाउँदा हामीहरु मर्कामा परेका छौ ।’ उत्पादन गरेका कषि उपजहरुले बजार नपाएको कृषकहरुले गुनासो गरे पछि जिल्लाका यि चार स्थानीय सरकारहरुले बजारीकरणको व्यवस्था मिलाउने बताएका छन् । उनीहरुले सत्यवती गाउँपालिकाको आयोजनामा जुहाँङ्गको खैरेनीमा भएको कृषि उद्यम तथा पशुपालनबाट उत्पादित वस्तुको बजारीकरण सम्बन्धी भएको अन्र्तक्रिया कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा कृषि तथा दुध उत्पादन र कृषि उत्पादनका वस्तुको बजारीकरण र प्रवद्र्धनका लागि अगामी बर्षको बजेट, नीति तथा कार्यक्रमहरुमा संयुक्त रुपमा समावेश गर्ने नीतिगत सहमति भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए । उनले कृषकहरु कृषिप्रति आकर्षित भए पनि उचित बजारको व्यवस्था नहुँदा मर्कामा परेको धारणा व्यक्त गरे । कृषकहरुको समस्यालाई मध्यनजर गर्दै चारवटै स्थानीय सरकारहरुले यस्तो नीतिगत निर्णय गरिएको अध्यक्ष ढकालले बताए ।

उनले भने ‘कृषि बजारीकरणको व्यवस्था गर्दै यहाँका नागरिकहरुलाई कृषिमार्फत आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन हामी प्रतिवद्ध छौं ।’ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगरले बढीघाट र यस क्षेत्रका कृषि तथा दुग्ध उत्पादनलाई पोखराको बजारसम्म पुर्‍याउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले कृषि उत्पादनका लागि बजारीकरणको व्यवस्था नगरेसम्म कृषकका समस्याहरु समाधान हुन नसक्ने धारणा व्यक्त गरे । मुसीकोट नगरपालिकाकी उपप्रमुख कमला शर्माले उत्पादनका क्षेत्रमा महिलाहरुको सहभागिता महत्वपूर्ण हुने बताउँदै बजारको व्यवस्थापन गर्न सके आर्थिक सम्वृद्धिमा महिलाहरुलाई लगाउन सकिने बताईन् ।

कार्यक्रममा बडीघाट क्षेत्र र आसपासका कालीगण्डकी, सत्यवती, चन्द्रकोट, मुसीकोटका स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, प्रशासकिय अधिकृत, कृषिशाखाका प्रमुख, स्थानीय जनप्रतिनिधी र अगुवा कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा भावी योजना र कार्यदिशाका विषयमा समेत छलफल गरी रणनैतिक रुपमा कार्य गर्ने निर्णय भएका छन् । यस्तो खालको रणनैतिक र प्रभावकारी छलफल यस क्षेत्रमै पहिलो भएको सहभागीहरुको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update