Shittalpati
खुर्सानीको पकेट क्षेत्र  बन्दै माथागढीको झडेवा

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा अहिले खुर्सानीको पकेट क्षेत्रको रुपमा विस्तार हुँदै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूह मार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा क्षेत्र विस्तार हुँदै गएको हो । गाउँपालिकाले कृषि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना अनुरुप वडा कार्यालयले झडेवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने गरी अगाडि बढाएको छ । गत वर्षदेखि नै झेडवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने अठोटसँगै वडा कार्यालयले कृषकहरुलाई निःशुल्क रुपमा खुर्सानीका विउ र मल सहयोग गर्दै आएको हो ।

गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गर्दै आएकाले यस तर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । झडेवा क्षेत्र खुर्सानी खेतीका लागि उर्वर मानिएकाले पकेट क्षेत्रकै रुपमा विस्तार गर्नका लागि गाउँपालिकाले दुई लाख रकम विनियोजन गरेको छ । खुर्सानी खेतीका लागि वडा कार्यालयले आवश्यक विउविजन, मल र प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए । उनले भने ‘गाउँपालिकाले कृषिबाटै समृद्धि हासिल गर्ने गरी गाउँपालिकाका वडाहरुलाई भौगोलिक भू–बनोटका आधारमा विभिन्न कृषिजन्य वस्तुको पकेट क्षेत्रका रुपमा विस्तार गर्ने योजना अनुरुप झडेवालाई खुर्सानीको पकेट क्षेत्रका रुपमा अगाडि बढाएका हौं ।’

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत रुपमा लगाउँदै आएका मकै, कोदो, धान खेती भन्दा खुर्सानी खेती तर्फ कृषकहरुको आकर्षण बढेको अध्यक्ष पराजुलीले बताए । गतवर्ष खुर्सानी विक्री गरेर यस क्षेत्रका कृषकहरुले ५० लाख आम्दानी गर्न सफल भएका थिए । खुर्सानीको उत्पादन र माग बढ्दै गएकाले यसवर्ष ७० लाख आम्दानी गर्ने लक्ष्य रहेको वडा अध्यक्ष पराजुलीले बताए । खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरुको जीवनशैलीमै परिवर्तन आएको वडा कार्यालयले जनाएको छ । खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रका कृषकहरु आत्मनिर्भर बनेका छन् । उनीहरु विभिन्न कृषक समूहमार्फत खुर्सानी खेतीमा लागेका हुन् ।

गतवर्ष खुर्सानीको उत्पादनमा वृद्धि भएको र राम्रो आम्दानी भएकाले कृषकहरु यसतर्फ आकर्षित भएका छन् । कृषक तथा आनन्द नगर कृषक समूहका सचिव रामबहदुर कामुले खुर्सानी खेतीले जीविका चलाउन सहयोग पुगेपछि अन्य अन्नबाली भन्दा खुर्सानी खेति नै राम्रो भएको बताए । कामुले गत वर्ष ३ रोपनी क्षेत्रफलमा लगाएको खुर्सानी विक्रीबाट एक लाख १३ हजार आम्दानी गर्न सफल भएको बताए । उनले भने ‘खुर्सानीबाट राम्रो आम्दानी भएपछि यसवर्ष पाँच रोपनी क्षेत्रफलमा खुर्सानी लगाउने तयारी थालेको छु ।’ खुर्सानीका लागि हावा पानी र माटो सुहाउँदो भएकाले झडेवालाई पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको गाउँपालिका कृषि शाखा संयोजक सीता खाम्चाले बताइन् । उनका अनुसार तीन सय रोपनी क्षेत्रफलमा खुर्सानी उत्पादन हुँदै आएको छ । वडाको केरौली, दण्देडी, आनन्द नगर, देउगिर लगायतका स्थानमा खुर्सानी खेती हुँदै आएको हो । व्यवसायिक कृषकहरुलाई समय समयमा निःशुल्क प्राविधिक परिक्षण, तालिम तथा विउ वितरण गर्ने गरेको कृषि संयोजक खाम्चाले बताइन् । कृषकले उत्पादन गर्दै आएको खुर्सानी स्थानीय सहकारी मार्फत बजार व्यवस्थापन हुँदै आएको छ ।

बिउ र मल वितरण :
वडा कार्यालयले यस वर्षको खुर्सानी खेतीका लागि बिउ र मल वितरण गरेको छ । कार्यालयले एक कार्यक्रमका बीच आठ वटा कृषक समूह मार्फत बिउ र मल वितरण गरेको हो । कृषकहरुको मागका आधारमा वडाले मल र बिउ वितरण गरेको छ । वडा अध्यक्ष मधु पराजुलीले कृषक समूहलाई मल र विउ वितरण गरेका हुन् । वितरण गर्दै वडाअध्यक्ष पराजुलीले मल र बिउको सहि प्रयोग गरी उत्पादन बढाउन कृषकहरुलाई आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका कृषि संयोजक सीता खाम्चा, वडा सचिव दिपमाया पुन लगायतले उत्पादनमा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update