Shittalpati
तानसेन आइपुग्यो युरिया मल

पाल्पा । धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला तानसेन नगरपालिकाको पहलमा मल तानसेन आइपुगेको छ । तानसेन आइपुगेको मल नगर सरकारको समन्वयमा दुई सय बोरा वितरण गरिएको छ । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहिले कृषिमन्त्रालयसंग आग्रह गरी साल्ट ट्रेडिङ कम्पनी भैरहवाबाट दुई सय बोरा युरिया मल नगरको लागि ल्याएको हो । दुई सय बोरा किसानलाई प्रयाप्त नभएकाले थप युरिया मल पनि माग गरेको र केही दिनमा आउने नगर प्रमुख शाहीले बताए । तानसेन नगरपालिकाको मुख्य धान खेती हुने स्थान मदनपोखरा माडिफाँट, अर्गली, छेर्लुङ्गफाँटलाई पहिलो चरणमा स्थानीय सहकारी मार्फत मल वितरण गर्ने गरी मल पठाएको तानसेन युवा परिषदका अध्यक्ष गुराँस आत्रेयले बताए ।

देशभरी मलको अभावभएको अवस्थामा यो मल प्रयाप्त नभए पनि नगर सरकारको पहलमा किसानलाई थोरै भएपनि राहतदिन सकेको तानसेन १३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईले बताए । स्थानीय सहकारीमार्फत सहुलियत मुल्यमै विक्रिवितरण भएको और्य सहकारी सस्था अर्गलीका व्यवस्थापक बिष्णु पाण्डेले जानकारी दिए । यो वर्ष समयमै प्रयाप्त पानी परेको र लकडाउनको कारण मानिस खाली भएकाले धेरै स्थानमा धान रोपिएको थियो जसले गर्दा धानबाली धेरै फल्ने आशा गरिएको थियो तर मलको अभावले किसानहरु चिन्तीत बनेका छन् । पाल्पामा रासायनिक मल वितरण गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेडमा डिएपी र पोटास प्रर्याप्त मात्रामा भए पनि युरिया मल नभएपछि किसानहरु मारमा परेका हुन् । यसवर्ष जिल्लाका किसानले धान रोपेर सक्दा समेत युरिया मलको चर्को अभाव व्यहोर्नु पर्‍यो । रोपाई गरेका खेतमा गोड्ने समय हुँदा समेत किसानले मल पाउन सकेनन् । गोडेपछि मल राख्नुपर्ने समयमा मल नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने भन्दै किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update